लिलौ दर्जी जो सधैं चुनावमा उठ्छन्
नेपालगञ्ज – ‘भोटवा दिओ–नदेऊ तुहार मर्जी, नाम हे लिलौं दर्जी’ चुनाव आएपछि नेपालगञ्जमा यो नारा चर्चामा हुने गर्दछ । यसपटक मात्रै होइन, हरेक पटकको चुनावमा यो नाराले चर्चा पाउँछ ।
नेपालगञ्जका ७४ वर्षीय लिलौं दर्जीको नारा हो यो । सबैजसो संसदीय चुनावमा उम्मेदवार बनेका दर्जीले ३० वर्षअघि यो नारा लगाएका थिए । जुन अहिलेसम्म चर्चामा छ । चुनावका बेला नेपालगञ्जवासीलाई गफ गर्ने माध्यम बन्ने गरेको छ ।
लिलौं दर्जी अहिले पनि उम्मेदवार छन् । दर्जीले बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा जनसमाजवादी पार्टीबाट उम्मेदवारी दिएका छन । २०७४ सालको चुनावमा पनि दर्जी यही पार्टीबाट चुनाव लडेका थिए । त्यतिबेला उनले ६ सय ८३ मत ल्याएका थिए । पाँचौं स्थानमा आएका दर्जीले तडकभडक गरेका धेरै उम्मेदवारलाई पछि पारेका थिए ।
पहिला–पहिला दर्जी पार्टीगत नभई स्वतन्त्रबाट चुनाव लड््ने गर्दथे । हरेक निर्वाचनमा उम्मेदवार बन्ने दर्जीले खासै प्रचार प्रसार गर्दैनन् । उम्मेदवारी दर्ता गर्ने अनि चुपचाप रहने दर्जीलाई आपसेआप मत आउने गर्दछ । दर्जी भन्नुहुन्छ, ‘प्रचार प्रसार गर्नु पर्दैन । चिनजानका मान्छेले आफै भोट दिन्छन् ।’
मान्छेका रहर पनि अनेक हुन्छन् । दर्जीको रहर सधैं चुनावमा उठ्ने छ । एकपटक त जनताले जिताउँलान् नि भन्ने झिनो आशा पनि छ । ‘यो पटक अन्तिम हो मेरो उम्मेदवारी दर्जी भन्नुहुन्छ, जनताले एकपटक चुनाव जिताइदिए नेपालगञ्जको विकास गर्ने ठूलो रहर छ ।’
मन्त्री मो. इस्तियाक राई, पूर्वमेयर डा. धवलशमशेर राणाहरु उम्मेदवार बनेको क्षेत्र नं. २ मा दर्जीले जित्ने आशा गर्नुलाई ‘आकाशको फल, आँखातरी मर’ भनेझै नै हो । तथापि, दर्जीले जित्ने आशा गर्नुलाई सकारात्मक सोचबाहेक केही भन्न सकिदैन ।
बाँके क्षेत्र नं. २ मा १५ जनाले संघमा उम्मेदवारी दिएका छन् । घरमै बसेर भएपनि दर्जीले धेरैलाई उछिन्ने विश्वास गर्नेहरु धेरै छन् । दल र नेताहरु मन नपर्नेहरुले दर्जीलाई मत हालिदिने गरेको पाइन्छ । जडीबुटीका औषधी बनाउने र लुगा सिलाउने दर्जीले सम्पर्कमा रहेका व्यक्तिलाई भोट हालिदिन आग्रह गर्ने गर्दछन् । भोट माग्न घरघरमा जादैनन् ।