नौ सीटका लागि ९८ जना उम्मेदवार

नेपालगञ्ज – बाँकेमा तीन वटा निर्वाचन क्षेत्र छ, ६ वटा प्रदेश सभा । तीन जना प्रतिनिधि सभा र ६ जना प्रदेश सभामा चुनिन्छन् । नौ जना भित्र पर्न ९८ जना मैदानमा उत्रिएका छन् ।

सबै भन्दा धेरै आकांक्षी क्षेत्र नं. २ मा देखिएको छ । यहाँ प्रतिनिधि सभाका लागि १५ जना र प्रदेशका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभामा ५ जना स्वतन्त्र उम्मेदवार छन् भने बाँकी १५ जना विभिन्न पार्टीबाट छन् ।

नेपालगञ्ज बजार समेटिएको यो क्षेत्रमा जसपाका मो. इस्तियाक राई, एमालेको समर्थन रहेको राप्रपाका डा. धवलशमशेर राणा, कांग्रेसका सुदीपनरसिंह राणाका बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । शिव सेनाका दिवाकर खनाल पनि प्रतिस्पर्धामा रहेका छन् ।

क्षेत्र नं. २ मा सधैं चुनाव लड्ने लिलौं दर्जीदेखि मो. इस्तियाकसँग रिसाएका समसुल हक राईको उम्मेदवारी रहेको छ । चुनावी प्रक्रियामा आएको सिके राउतको जनमत पार्टीका झगडा पनि देखिएको छ । पार्टीबाट बाबु खाँ उम्मेदवार बनेपछि इरफान अहमद शेषले स्वतन्त्रमा उम्मेदवारी हालेका छन् ।

प्रदेशमा २४ जनाको उम्मेदवारी परेको छ । प्रदेश (क) मा ११ जना र (ख) मा १३ जनाले उम्मेदवारी हालेका छन् ।

क्षेत्र नं. १ मा २८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा ११ जना र प्रदेशमा १७ जनाले उम्मेदवारी हालेका छन् । यहाँको एउटा प्रदेशमा दाजुभाईको उम्मेदवारी परेको छ, त्यो पनि सहमतिमा । प्रदेश (क) मा नरैनापुरका विक्रम यादव र उग्रसेन यादवले उम्मेदवारी हालेका हुन । एमालेबाट लामो समयसम्म राजनीति गरेर राज्यमन्त्रीसम्म भएका स्व. दिनेशचन्द्र यादवका यी दुई छोराले प्रदेशको एउटै क्षेत्रमा उम्मेदवारी हालेका छन् । एमालेबाट टिकट पाउने आशा गरेका विक्रमले गठबन्धन गर्दा राप्रपाको भागमा त्यो क्षेत्र परेपछि भाईलाई समेत हाल्न लगाएर उम्मेदवारी हालेका छन् । उनीनिकट स्रोतका अनुसार, विक्रमको उम्मेदवारीमा कसैले दावी विरोध हालेमा उग्रसेनलाई अगाडि सार्न दुवैको उम्मेदवारी परेको छ ।

क्षेत्र नं. ३ मा ३१ जनाको उम्मेदवारी परेको छ । संघमा दश जना र प्रदेशमा २१ जना छन् । प्रदेशको (क) मा ९ जना र (ख) मा १२ जना रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा होमिएर समयमै खर्च विवरण नबुझाएका उम्मेदवारलाई निर्वाचन आयोगले मोटो रकम जरिवाना गरिरहेको बेला संघ र प्रदेशमा लहडका भरमा उम्मेदवारी पर्दैन भन्ने आकलन गरेपनि त्यस्तो देखिएको छैन । रिसराग, जोश अनि अर्कोलाई ठीक पार्न उम्मेदवारी दिनेहरु बढी नै देखिन्छन् । जित्ने आधार बिना नै चर्चाका लागि उम्मेदवारी दिनेहरु पनि देखिएका छन् । क्षणिक चर्चाका लागि नै सही, उम्मेदवारी दिएकाले निर्वाचनको अधिकृतको कार्यालयमा भने उम्मेदवारी दस्तुर बुझाएका छन् । स्थानीय तहको निर्वाचनमा नेपालगञ्जमा दुई मत पाएका व्यक्तिको नाममा पनि अढाई लाख रुपैया जरिवाना देखिएको छ । अहिले उम्मेदवार बनेका धेरै महत्वकांक्षीको हालत त्यस्तै हुने देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !