घरभित्रै राप्तीको भंगालो (फोटोहरु)
नेपालगञ्ज – राप्ती नदीमा आएको बाढी घरभित्र पसेपछि बांकेमा सयौ घरपरिवार विस्थापित भएका छन् ।
नदीको सतह ९ मिटर कटेपछि राप्तीसोनारी, डुडुवा र नरैनापुरका सयौं घरमा पानी पसेको छ । राप्तीसोनारीको टिकुलीपुर, बाघखोर, सिक्टागाउं र सौरी, साइपुर र जंगपुरमा बाढी घरभित्र पसेको छ ।
टिकुलीपुरका बहादुर केसीले ३ सय ५० घरधुरी विस्थापित भएको जानकारी दिए । टिकुलीपुरमा राती २ बजे पानी पसेको थियो । नदी बढेको अग्रिम सूचना पाएका गाउंलेहरु ९ बजे नै घर छोडेर भागेका थिए । उनीहरु सिद्ध साइकुमारी मन्दिर परिसरमा बसेका छन् ।
बाघखोरका ८१ जनालाई प्रहरीले राती नै लालीगुरास सेल्टर भवनमा सारेको थियो । सिक्टा र सौरीका विस्थापित आफन्तीको घरमा बसेका छन् ।
साइपुर र जंगपुरका ३५ घरपरिवार सामुदायिक बहुउद्देश्यीय आश्रयस्थलमा बसेका छन् । डुडुवाको चौफेरीगाउंमा पानी पसेको छ । नरैनापुरको तटीय गाउंमा पानी पसेको छ ।
बाढीको क्षति यकिन भइसकेको छैन । विस्थापितलाई राहतको तयारी गरिएको छ ।