डुडुवाका कर्मचारीले साउनदेखि तलव खान पाएनन्, खल्लो हुँदै दशैं

नेपालगञ्ज – दशैंको १५ दिनअघि नै तलव आउँछ, पेश्कीसहित । अनि, सरकारी कर्मचारीको घरपरिवारमा छाउँछ खुशीयाली ।

बाँकेको डुडुवा गाउँपालिकाका कर्मचारीले यसपाली दशैंमा यो खुशीयाली मनाउन नपाउने संभावना बढ्दै गएको छ । यतिबेला कर्मचारीहरु ‘दशैंमा समेत तलव खान नपाइने भयो, कसरी दशैं मनाउने होला’ भन्दै हिडिरहेका छन् ।

डुडुवाका कर्मचारीले साउनदेखि नै तलव खान पाएका छैनन् । राजनीतिक दलको ‘इगो’मा कर्मचारी परेका छन्, विकास निर्माण परेको छ ।
यो पालिकामा अहिलेसम्म गाउँ सभा हुन सकेको छैन । कार्यपालिकाको बैठक नै बस्न नसक्ने अवस्था रहेको छ । कांग्रेस एकातिर र जसपा–एमाले अर्कोतिर रहेका छन् । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र एक जना वडाध्यक्ष कांग्रेसको छ । जसपाको तीन जना वडाध्यक्ष र एमालेको दुई जना वडाध्यक्ष छन् । कार्यपालिका सदस्य जसपा र एमालेले बराबरी बाँडेका छन् । पहिलो कार्यकालमा अध्यक्ष नरेन्द्र चौधरीले पेलेर लगेकाले यसपाली जसपा र एमालेले नत्थी लगाउने रणनीतिका साथ अघि बढेका छन् । अध्यक्ष चौधरीसँग बहुमत नहुँदा र बहुमत रहेको जसपा र एमालेले विभिन्न मागहरु अघि सार्दा कार्यपालिका बैठक नै हुन सकेको छैन । कार्यपालिका बैठक नहुँदा अहिलेसम्म गाउँ सभा हुन सकेको छैन । गाउँ सभा नहुँदासम्म बजेट चलाउन पाइदैन ।

लेखा कर्मचारीका अनुसार, गाउँ सभाको बजेट हालेपछि सफ्टवेयर ‘सूत्र’खुल्छ । गाउँ सभा नै नभएकाले त्यसमा बजेट इन्ट्री हुँदैन । सशर्तलगायत कार्यक्रमका बजेट आइसकेको छ । त्यसलाई हेर्न मिल्छ । तर, चलाउन मिल्दैन । कर्मचारीको तलव पनि ढिक्कामा आइसकेको छ । गाउँ सभाको इन्ट्री नभएकाले बजेट निकाल्न सकिएको छैन ।

पालिकामा दुई सय बढी कर्मचारी छन् । पालिकाले नियुक्ति गरेका र काम राम्रो नदेखिएका कर्मचारीलाई हटाउनु पर्ने जसपा र एमालेको माग नै छ । त्यसबाहेक कार्यपालिका बैठक बस्दा पहिला नै एजेन्डा तय गर्नुपर्ने र त्यो एजेन्डाबाहेक अरु थप्न नहुने उनीहरुको माग छ । कार्यपालिकामा अल्पमतमा रहेपनि अध्यक्ष चौधरीले मिल्ने सूत्र निकालिसकेका छैनन् । खासगरी डुडुवा गाउँपालिकाका अध्यक्ष चौधरी र संघीय मन्त्री एवं जसपाका नेता मो. इस्तियाक राईबीचको इगोले यसमा काम गरेको छ । डुडुवासमेत समेटिएको क्षेत्रबाट सांसद भई मन्त्री भएका मो. राई र पालिका अध्यक्ष चौधरीको इगोले गर्दा समन्वय हुन नसक्दा पालिकामा ठूलो विकास हुन सकेको छैन । मन्त्री राईको बजेट नै डुडुवामा परिचालन हुन पाएन । यसपाली मन्त्री राईले डुडुवाका आधा दर्जन बढी ठाउँमा पुल सिलान्यास गरेका छन् । यसको पनि गाउँपालिकाका अध्यक्ष चौधरीले विरोध गर्दै हिडेका छन् । यो चुनावको मुखमा जनतालाई बेवकुफ बनाउने षड्यन्त्र भएको चौधरीको भनाई छ ।

यता, एमालेले विगतमा पेलिएकाले जसपालाई साथ दिएको छ । विगतका अल्पमत जसपा र एमाले मिल्दा र यसपालीको चुनावमा ठूलो दल बन्दा कांग्रेसलाई पेलिरहेका छन् । पार्टी र नेताको इगोका कारण कर्मचारीले तलव खान पाएका छैनन् । यसको असर विकास निर्माणमा पर्ने देखिएको छ । साउनदेखि तलव खान नपाएका कर्मचारीहरु पार्टीका नेताहरुसँग गुहार मागिरहेका छन् । नेताहरु भने एकले अर्कोलाई सेखी झार्ने दाउमा रहेका छन् । एकले अर्कोलाई झुकाउन उद्दत रहेका छन् । नेताहरुको झुक्ने र झुकाउने खेलमा समग्र पालिकाका जनता पिल्सिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !