बाँकेमा ८५ प्रतिशतले खान्छन्, ह्याण्डपम्पको पानी
नेपालगञ्ज – बाँकेमा ८५ प्रतिशत घरधुरीका मानिसले ह्याण्डपम्पको पानी खाने गरेका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जका अनुसार, १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका छन् । यसरी पानी खाने जिल्लाका १४ हजार १ सय ३० घरधुरी रहेका छन् ।
सन् २०३० सम्ममा सबै घरमा स्वच्छ खानेपानी पु¥याउने दिगो विकास लक्ष्य राखिएको छ । बाँकेमा त्यो लक्ष्य समयमा पूरा हुनेमा आशंका बढेको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जले जिल्लामा ७५ वटा खानेपानीका योजनामा काम गरिरहेको छ । गतवर्ष खानेपानीमा २४ करोड खर्च भयो । योजना भने कुनै पनि सम्पन्न भएका छैनन् । एउटा योजना सम्पन्न नहुँदै अर्को योजनामा हात हाल्ने प्रवृत्तिले समयमा काम हुन सकेको छैन ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले मागको आधारमा नभई नेता र सांसदको दबाबमा माथिबाटै योजनाहरु थपिदा समस्या भएको बताउनुभयो । उहाँले आफूहरुले नचाहदा नचाहदै पनि योजना थपिने गरेको खुलाउनुभयो । बिहीबार नेपालगञ्जमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै डिभिजन प्रमुख न्यौपानेले योजनाको संख्या बढ्दै गर्दा बजेट पनि घटिरहेको जानकारी दिनुभयो ।