कोहलपुरमा मालपोत र नापी कार्यालय उद्घाटन

नेपालगञ्ज – बाँकेको कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गरिएको छ । दुई कार्यालयको आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उद्घाटन गर्नुभयो ।

कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका जनतालाई सेवा दिनका लागि कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गरिएको छ । नगर विकास समितिको भवनमा मालपोत र नापी कार्यालय उद्घाटन गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले संविधानको रक्षा गर्न बनेको वर्तमान सरकारले जनतालाई सहज र सरल तरिकाले सेवा दिन लागि परेको बताउनुभयो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले कोहलपुरमा मालपोत र नापी कार्यालय देखाउनका लागि मात्रै नभई काम गर्नका लागि उद्घाटन गरिएको बताउनुभयो ।

पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीले आज उद्घाटन गरिएको मालपोत र नापी कार्यालय निर्वाचन अघि सुचारु भएको कोहलपुरवासीले हेर्न चाहेको बताउनुभयो ।
कोहलपुरका मेयर पूर्ण आचार्यले मालपोत र नापी कार्यालय सञ्चालनका लागि बजेट र जनशक्तिको अभाव हुन नदिन आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागका महानिर्देशकले कोहलपुरबाट छिट्टै मालपोत र नापी कार्यालय सञ्चालनमा आउने आश्वासन दिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, मालपोत कार्यालय, बाँकेका प्रमुख छविलाल नेपाली, नापी कार्यालय, बाँकेका प्रमुख नापी अधिकृत सहदेव सुवेदीले यथाशिघ्र सञ्चालन हुने मालपोत र नापी कार्यालयबाट यस क्षेत्रका जनताले सुविधा पाउने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन गरिएको मालपोत र नापी कार्यालयका लागि बजेट छुट्याइ सकिएको छैन । कर्मचारी दरबन्दी कायम गरिएको छैन । न त भौतिक पूर्वाधार नै राम्रो छ । चुनावलाई लक्षित गरेर कार्यालय उद्घाटन गरेकोजस्तो देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !