मेरो टुकी प्रज्ञालयले मनायो कृष्णजन्माष्टमी

नेपालगञ्ज – मेरो टुकी प्रज्ञालयमा युकेजीमा अध्ययनरत् अधीरा राधाको पोषाक लगाएर स्कुल पुगेपछि मात्र हिजोदेखिको उनको अधीर प्रतीक्षा पूरा भयो । अधीराजस्तै राधा र कृष्णको भेषभूषामा सजिएर आफ्ना अभिभावकसँग स्कुल पुगेका अरु सबै बालबालिकाको मुहारमा उमंगको चमक थियो । आज प्रज्ञालयमा कृष्ण जन्माष्टमी उत्सव भएकोले र त्यसमा सहभागी हुन आएका बालबालिकाको झिलिमिलिले प्रज्ञालयको वातावरण नै छुट्टै थियो ।

जन्माष्टमी उत्सवलाई विद्यालयका शिक्षिकाहरुले सामूहिक स्वस्तिवाचन, शान्तिमन्त्र पाठ गरेर सुरु गराए । त्यसपछि क्रमैसँग बालबालिकालाई पूजा गराए । बालकृष्णको कृष्णलीलाको छोटो नाटक र मखनचोरीको लागि घैंटो समात्ने खेलले उत्सवलाई झनै रोमाञ्चक बनाएको थियो । जन्माष्टमीको थिममा झकिझकाउ सजिएको मञ्चमा बालबालिकाले विभिन्न भजन तथा गीतहरुमा नृत्य गरेका थिए । उत्सव शान्तिपाठसँगै दिउँसो तिन बजे सम्पन्न भएको थियो ।

 

अभिभावक तथा भेरी अस्पतालकी मनोचिकित्सक डा. लीला देवकोटाले ज्ञानसँगै आफ्नो छोरीले संस्कार सिक्न पाउँदा आफू खुसी रहेको बताइन् । अर्का अभिभावक अधिवक्ता पूर्ण ढकालले संस्कृतिमा ह्रास आइरहेको यो समयमा प्रज्ञालयले सांस्कृतिक पर्वहरुलाई महत्व दिएर बालबालिकाको सहभागितामै मनाउने गरेको कुराले आशा जगाएको बताए । आफ्नो छोरामा तिन दिन अघिदेखि देखिएको कृष्ण बन्ने उत्साहले आफू निकै भावविभोर भएको उनले बताए ।

अभिभावक डा. अभिषेक अर्जेलले पढाइको बोझले बालबालिका स्कुल नै जान नमान्ने आजको परिप्रेक्ष्यमा यस्ता प्रज्ञालयले गर्ने यस्ता उत्सवहरुले सकारात्मक भूमिका खेलेको बताए ।

बालबालिकालाई गीताको कर्मयोग, संस्कार, वैदिक आदर्श र उमंगको व्यवहारिक शिक्षा दिन कृष्ण जन्माष्टमीलाई विशेष पर्वको रुपमा मनाएको प्र्रिन्सिपल कल्पना शर्माले बताइन् । उनले सकेसम्म संस्कार र मूल्य सिकाउने पर्व र उत्सवहरु सोही दिन विद्यालयमै आयोजना गर्ने गरिएको बताइन् । प्रज्ञालयले प्रयोगात्मक र पूर्वीय दर्शनमा केन्द्रित विविध कार्यक्रमहरु गर्दै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !