उम्मेदवारलाई सचेत गराउँछौं, जनतालाई भोट हाल्न नजानु भन्छौं : सुदर्शन

नेपालगञ्ज – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का प्रवक्ता हेमन्तप्रकाश वली ‘सुदर्शन’ले मंसीर ४ गतेको चुनावमा भाग नलिने र जनतालाई पनि भाग नलिन आव्हान गर्ने बताउनु भएको छ ।

‘हामी चुनावमा भाग लिदैनौ । जनतालाई पनि चुनावमा भोट हाल्न नजानु भन्छौं, आइतबार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता सुदर्शनले भन्नुभयो, उम्मेदवारलाई पनि सचेत गराउँछौं ।’ उहाँले चुनावको विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने बताउनुभयो ।

पार्टी प्रवक्ता सुदर्शनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नवप्रतिक्रियावादी भएको टिप्पणी गर्नुभयो । विगतमा प्रचण्डले नेकपा एमालेलाई नवप्रतिक्रियावादी भन्ने गरेकोमा अहिले आफै त्यही दिशामा हिडेको बताउनुभयो । ‘विगतमा माओवादीले कांग्रेसलाई प्रतिक्रियावादी र एमालेलाई नवप्रतिक्रियावादी भन्ने गर्दथ्यो । अहिले प्रचण्ड नवप्रतिक्रियावादी दिशामा गएका छन्, प्रवक्ता सुदर्शनले भन्नुभयो, माओवादीमा वर्ग विचलन भएको छ ।’

प्रवक्ता सुदर्शनले कर्णाली ब्यूरोको कार्यक्रम सकेपछि आयोजित पत्रकार भेटघाटमा प्रवक्ता सुदर्शनले अहिलेको देशको समस्या स्वधिन संयुक्त सरकार निर्माण गरेर मात्रै समाधान हुने बताउनुभयो । उहाँले त्यसका लागि देशभक्त र बामपन्थ एकजुट हुनुपर्ने बताउनुभयो । प्रवक्ता सुदर्शनले बामपन्थीहरुको बीचमा एकताको प्रक्रिया थालिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, मोहन बैद्यले नेतृत्व गरेको माओवादी क्रान्तिकारीसँग एकताका लागि पार्टी एकता संयोजन समिति बनाइएको छ । अरुलाई पनि जोड्दै लैजाने तयारी छ ।

वैज्ञानिक समाजवादबाट मात्रै देशको समस्या समाधान गर्न सक्छ भन्ने धारणा राख्नु भएका सुदर्शनले एमसीसीले नेपाललाई अमेरिका र चीनको युद्धको अखडा बनाउने बताउनुभयो । उहाँले मिटर ब्याज, महंगी, भ्रष्टाचारलगायतका जल्दाबल्दा समस्याविरुद्ध आफ्नो पार्टी डटेर लाग्ने उद्घोष गर्नुभयो ।

कर्णाली ब्यूरोका इन्चार्ज सुदीपले सरकारले विगतमा गरेको तीन बुँदे सहमतिको पूर्णपालना नगरेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !