नेपालगञ्जमा बढ्दो फुटसल क्रेज

नेपालगञ्ज – नेपालगञ्जमा फुटसलको लोकप्रियता बढेको छ । फुटसलप्रतिको आकर्षणले गर्दा नै यसमा करोडबढीको लगानी भइरहेको छ ।

नेपालगञ्जमा एउटामात्रै फुटसल थियो । शनिबारदेखि अर्को एउटा थपिएको छ । ६ जना फुटबलप्रेमी मिलेर न्यूरोडमा फुटसल बनाएका थिए । उनीहरुले जग्गा लिजमा लिएर फुटसल बनाएका हुन् । नेपालगञ्ज फुटसल नाम दिइएको उक्त फुटसल राम्रै चलेको छ । ५० जना बढीले सदस्यता लिएर नियमित फुटसल खेलिरहेका छन् ।

शनिबारदेखि होम इन्टरनेशनल स्कूलले बनाएको फुटसल शुरु भएको छ । अढाई कठ्ठा जग्गासहित दुई करोड ५० लाख रुपैया खर्च गरिएको छ । स्कूलका सञ्चालक सुरेश गौतमले जग्गा छोडेर फुटसलमामात्रै ५० लाख रुपैया खर्च भएको जानकारी दिनुभयो ।

स्कूलभित्र बनाइएको फुटसलमा स्कूल समय बाहिर जो पनि सदस्यता लिएर खेल्न सक्ने गौतमले बताउनुभयो ।
फुटसलको शनिबार नेपालगञ्जका मेयर प्रशान्त विष्टले उद्घाटन गर्नुभयो । फुटसलको उद्घाटनका क्रममा फुटसल प्रतियोगिता नै राखिएको थियो । नेपाल पत्रकार महासंघ, वार एशोसियसन, मानव अधिकारकर्मी, नेपाल आर्मी, नेपाल प्रहरी, होप इन्टरनेशनल स्कूल, राँझा फुटबल टीम, बाँके जिल्ला फुटबल संघको टोलीले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको उपाधी होम इन्टरनेशनल स्कूलले जितेको छ । उसले फाइनलमा नेपाल आर्मीलाई पराजित गरेको थियो ।

स्वस्थ रहन विभिन्न अभ्यास गर्ने गरिन्छ । नियमित फुटसल खेल्दा शरीरलाई फिट राख्न सकिन्छ । विगतमा फुटबल खेलेका प्रायः मानिस फुटसल खेल्न गइरहेका छन् । विहान र साँझ हिड्ने, जीम जाने, पौडी खेल्न जानेजस्तै शरीरलाई फिट राख्न फुटसल खेल्न जानेको कमी
छैन ।


error: यो सुविधा उपलब्ध छैन !