असई चौलागाईलाई करणी उद्योगमा मुद्दा
नेपालगञ्ज – हिरासतमा रहेकी महिलालाई सोधपुछका नाममा राती २ बजे कोठामा बोलाएर यौन दुव्र्यवहार गरेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार, पीडित महिलाको जाहेरीको आधारमा असई चौलागाईविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । असई चौलागाई प्रहरी हिरासतमा रहेका छन् ।
असई चौलागाईले बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई सोधपुछको बहानामा राती २ बजे कोठामा बोलाएर बलात्कारको प्रयास गरेका थिए । त्यही बेलामा गस्तीमा गएको गाडी फर्किएर आएपछि पोल खुल्ने डरले असई चौलागाईले महिलालाई फिर्ता पठाएका थिए । महिलालाई राती असईले कोठामा बोलाएपछि अरु थुनुवाले होहल्ला गरेका थिए ।
असई चौलागाई इप्रकाको मुद्दाफाँटमा कार्यरत थिए ।