चार वर्षमा चार वटा बाघ बढ्यो

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा चार वर्षमा चार वटा बाघ बढेको छ ।

पछिल्लो पटक गरिएको गणनाको रिपोर्ट अनुसार, बाँकेमा बाघको संख्या २५ पुगेको छ । सन् २०१८ मा बाँकेमा २१ वटा बाघ थिए । सन् २०१३ मा चार वटा बाघ थियो ।

बाघ नै संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जलमा आशातित बाघको संख्या बढ्न सकेन । बर्दियामा भने ३८ वटा बाघ बढेको छ । बाँके र बर्दिया निकुञ्ज जोडिएकाले बाघ दुवैतिर देखिएको हुन सक्ने बाँकेका वार्डेन श्यामकुमार शाहले बताउनुभयो । ‘जंगल एउटै भयो । बाघ दुवैतिर देखिएर बर्दियातिर गणना भएको हुन सक्छ, वार्डेन शाहले भन्नुभयो, प्रतिवेदन हेर्न पाएको छैन । त्यो हेरेपछि वास्तविकता थाहा हुन्छ ।’

२०६७ सालमा बाँके राष्ट्रि निकुञ्ज स्थापना गरिएको हो । बाघलाई नै फोकस गरेर स्थापना गरिएको निकुञ्जमै पछिल्लो गणनामा बाघ नै धेरै बढेको देखिएन । निकुञ्ज अधिकारीहरु बाँकेमा बाघका लागि राम्रो बासस्थान, आहारा प्रजाती प्रशस्त रहेको बताउँछन् ।

बाँके राष्ट्रिय निकुञ्ज र आसपासमा बाघले आधा दर्जन बढी मानिसलाई आक्रमण गरेको तथ्यांकले निकुञ्जमा बाघको संख्या धेरै बढेको आकलन गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !