अभिभावकविहीन बालबालिकालाई खजुरा गाउँपालिकाले ‘संरक्षण’ गर्ने
नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने भएको छ । पालिकाले त्यसका लागि बजेट छुट्याएको छ ।
पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारिएको हो ।
गाउँपालिकाका अध्यक्ष डम्बर विकले अभिभावकविहीन बालबालिकालाई स्थानीय सरकारले पाल्ने र पढाउने बताउनुभयो । ‘हामीले त्यसका लागि केही बजेट छुट्याएका छौं । संघ संस्था र व्यक्तिहरुसँग सहकार्य पनि गर्छौ, अध्यक्ष विकले भन्नुभयो, अभिभावकविहीन बालबालिकालाई आवासीय पढाई हुन्छ ।’
पालिकामा ५० जनाजति त्यस्ता बालबालिका हुन सक्ने आकलन गरिएको छ । १८ जना सम्पर्कमा आइसकेको अध्यक्ष विकले जानकारी दिनुभयो ।
पालिका शिक्षा शाखामार्फत बजेट छुट्याएर टुहुराको अभिभावक बन्ने प्रयास गरेको छ । शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्लले तत्काललाई यो अभियानका लागि पाँच लाख रुपैया छुट्याइएको बताउनुभयो । ‘बा, आमाको ठेगान नभएका बालबालिकालाई पालिकाले संरक्षण गरेर पढाइदिनका लागि बजेट छुट्याइएको छ, शिक्षा शाखाका प्रमुख मल्लले भन्नुभयो, पालिकाभित्र कति छन् । सोधीखोजी थालिसकेका छौं ।’
अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने संघ संस्थाहरुमा थुप्रै छन् । बाँकेको हकमा प्रायः क्रिस्चियनहरुले यस्ता संस्था चलाएका छन् । कतिपय नेताहरुले गरीव, विपन्न, दुःख पाएका बच्चालाई पढाइदिने जिम्मा लिएको देखिन्छ । यद्यपि, त्यसरी गोद लिइएका बच्चाको विचल्ली भएको समाचारहरु आउने गरेका छन् ।
खजुरा गाउँपालिका आफैले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने कार्यक्रम ल्याएर नमूना कामको शुरुवात गरेको छ ।
योसँगै पालिकाले शिक्षामा लोकसेवाको तयारी कक्षा सञ्चालन, पढ्दै कमाउदै कार्यक्रम, उच्च शिक्षा अध्ययन सहयोगलगायतका लागि बजेट छुट्याएको छ । पालिकाले शिक्षामा तीन करोड २६ लाख ८३ हजार रुपैया छुट्याएको छ ।
उमेर समूहका बालबालिकालाई विद्यालय प्रवेश गराउने हरेक पालिकामा कार्यक्रम रहेका छन् । विद्यालय नै नआएकालाई भर्ना गराउने, विचैमा छोडेका पुनः प्रवेश गराउने कार्यक्रम वर्षेनी हुने गर्दछन् । विद्यालय प्रवेश भएर पनि छोडेकालाई तार्गेट गरेर दीर्घकालिन कार्यक्रम ल्याउन जरुरी देखिन्छ । किनकी, भर्ना अभियानका नाममा यस्तै बालबालिका वर्षेनी दोहोरिने गरेको पाइन्छ ।