स्कूलले किन दिदैनन् विद्यार्थीको विवरण ?
नेपालगञ्ज – नेपालगञ्जका स्कूलहरुले विद्यार्थी विवरण दिन आनाकानी गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीको विवरण माग गरिरहेपनि स्कूलहरुले विवरण दिएका छैनन् ।
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले स्कूलहरुलाई विद्यार्थीको तथ्यांक पठाइदिन आग्रह गर्दा धेरै स्कूलले विवरण नपठाएको बताउनुभयो । ‘हाम्रा स्कूललाई विद्यार्थी विवरण बनाएर पठाउन कति कठिन भएको होला । सूचना गरेको महिना दिनमा पनि विवरण आएन, थापाले भन्नुभयो ।
उपमहानगरपालिकाले पूर्वप्राविदेखि १२ कक्षासम्मका विद्यार्थीको विवरण माग गरेको छ । पालिकाभित्र कति विद्यार्थी छन् भन्ने रेकर्ड राख्न विवरण माग गरिएको छ । नेपालगञ्जमा ४३ वटा सामुदायिक, ८२ वटा संस्थागत र ३९ वटा धार्मिक (३८ वटा मदरसा, एउटा गुरुकूल) स्कूल रहेका छन् ।
उपमहानगरपालिकाको वेभसाइड र सूचना टाँस गरेर विवरण माग गरिएकोमा धेरै स्कूलले विवरण नपठाइदिएपछि अब फेरि ताकेता गर्ने तयारी गरिएको छ ।