भेरीमा प्रशासनको छड्के, सात जनाको अग्रिम हाजिरी, २९० जना गयल
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा जिल्ला प्रशासन कार्यालयले छड्के जाँच गरेको छ ।
विहान सवा दश बजे गरिएको छड्केमा २ सय ९० जना कर्मचारी परेका छन् । ३ सय ७८ जना कर्मचारी रहेको भेरीमा २ सय ९० जना छड्केमा परेका हुन् । त्यसमा सात जनाले अग्रिम हाजिरी गरेको पाइएको छ । अग्रिम हाजिरी गर्नेमा डाक्टर निर्मल शाक्य, डा. सुरेशकुमार नाग, चार जना स्टार्फ नर्स र एक जना कार्यालय सहयोगी रहेका छन् । डा. शाक्यको हाजिरीको माथि टेप टाँसिएको छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरीमा व्यवस्थापन कमजोर देखिएको बताउनुभयो । प्रजिअ खत्रीले भन्नुभयो, ‘कोहीले अग्रिम हाजिर गरेका छन् । कोहीले हाजिरी नै गरेका छैनन् । अस्पताल प्रशासनले कडाई गर्न नसकेको देखिन्छ ।’
कर्मचारीले मन लागेको बेला हाजिरी गर्ने गरेको देखिन्छ । जुनसुकै समयमा आएर पहिलाको या अग्रिमसमेत हाजिरी गर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले अग्रिम हाजिरी र गयलका विषयमा अस्पताल प्रशासनसम्बद्धलाई बोलाएर स्पष्टीकरण सोध्ने जनाएको छ ।