बाँकेमा २० प्रतिशत धान रोपाई

नेपालगञ्ज – बाँकेमा यो वर्ष ढिलो गरी धान रोपाई शुरु भएको छ ।

असार १५ अर्थात धान दिवसमा परेको पानीले रोपाई शुरु भएको बाँकेमा असारको अन्तिम हप्ता लागिसक्दा २० प्रतिशत हाराहारीमा रोपाई भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले २० प्रतिशत हाराहारीमा रोपाई भएको जानकारी दिनुभयो । उहाँका अनुसार, यो वर्ष बाँकेमा ढिलो गरी धान रोपाई भएको छ ।

असार १५ गते अघिसम्म बाँकेमा पानी परेको थिएन । किसानले आकाशेपानीले धानको बिउ (ब्याड) राख्न पाएका थिएनन् । बोरिङ, ह्याण्डपम्प चलाएर बिउ राखिएको थियो । कतिपय किसानको बिउ अझै रोप्ने बेला नै भएको छैन । अलि पहिला बिउ राखेका किसानले यतिबेला रोपाई गरिरहेका छन् ।

बाँकेमा यो वर्ष राम्ररी पानी नै परेको छैन । १५ गतेयता हल्का हल्का वर्षा भएका छन् । गौरवको आयोजना सिक्टाले पानी छोडेको छ । सिक्टाले अझै किसानको खेतमै पानी पु¥याउने गरी संरचना बनाइसकेको छैन । सिक्टाको पानी खोला, नालाहरुमा छोडिएको छ । त्यहाँबाट किसानले पम्पसेट लगाएर पानी खेतमा पु¥याइरहेका छन् ।

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गर्दछ । आकाशेपानीकै भर पर्नु पर्ने भएकाले धानखेती राम्रो हुन सकेको छैन । गतवर्ष समयमै धान रोपाई भएपनि कात्तिकमा आएको बेमौसमी बाढीले धानमा ठूलो क्षति पु¥याएको थियो । त्यो क्षतिले गर्दा बाँकेमा उत्पादन ह्वात्तै घटेको छ । धानमा आत्मनिर्भर रहेको बाँकेमा समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपेपनि पछि बाढीले क्षति पु¥याउने गरेको छ ।

जिल्लाका राप्ती नदी तदीय क्षेत्रका बासिन्दाको धान वर्षेनी नदीले बगाउनु सामान्यजस्तै भइसकेको छ । भारतले राप्ती नदीमा एकतर्फी लक्ष्मणपुरमा बनाएको बाँध, कलकलवा तटबन्ध र दशगजामै बनाइएको सडकजस्तो नेपालबाट बग्ने पानीको प्राकृतिक बहावलाई रोक्ने गर्दछ । जसले गर्दा वर्षेनी डुवान, कटान र पटान हुने गरेको छ ।

सन् २००३ मै भारतले नदीको दुवैतर्फ २८ किलोमिटरमा पक्की तटबन्ध बनाइदिने बताएपनि अहिलेसम्म भारतले सहयोग गरेको छैन । न त नेपालले सम्झौता अनुसार छिटो काम गर्नु प¥यो भनेर दबाब नै दिन सकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !