बजारको बसाईसँगै युवतीको लागु औषधी यात्रा

नेपालगञ्ज – बजारको बसाईसँगै युवती पनि लागु औषधीको दलदलमा फसेको पाइएको छ । पढ्न वा कामको सिलसिलामा बजारमा आइपुगेका युवती कुलतमा फसेका हुन् ।

नेपालगञ्जमा अहिले २१ जना युवती लागु औषधीको दलदलबाट उम्किने प्रयासमा छन् । महंगो शुल्क तिरेर उनीहरु उपचार तथा पुनस्र्थापना केन्द्रबाट उपचार लिइरहेका छन् । नेपालगञ्जमा थुप्रै युवती अझै कुलतमै छन् । लहलहै र बाध्यतामा परेर लागु औषधको दलदलमा भाँसिन पुगेका उनीहरु उम्किन सकेका छैनन् । पढेलेखेका, उच्च घरानाका युवती पनि कुलतमा फसेको पाइएको छ ।

बाँकेमा २० वटा उपचार तथा पुनस्र्थापना केन्द्र छन् । चालु आर्थिक वर्षको असार ७ गतेसम्ममा ८ सय ८७ जनाले उपचार सेवा लिएका छन् । त्यसमा ९३ जना महिला थिए । उपचार लिएकामध्ये ५ सय ७५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ७२ जना महिला छन् । अहिले ३ सय १२ जनाको उपचार भइरहेको छ । त्यसमा २१ जना महिला छन् ।

लागु औषधी कारोबारमा पनि महिला अगाडि नै छन् । सेवन नगर्नेहरु पनि छिटो पैसा कमाउने लोभले कारोबारमा लागेको पाइएको छ । लागु औषधी ओसारपसार गरिदिने वा सम्पर्कस्थल बनेर कारोबारमा सघाउने गरेको पाइन्छ । पहाडी जिल्लाका महिलाले चरेश, अफिम बोकेर नेपालगञ्ज झर्नु र यहाँका रैथाने मधेसी महिला वा पहाडी युवतीले कारोबार गर्नुलाई नौलो मानिने गरेको छैन ।

अर्थ जुटाउन सक्ने परिवारले आफ्ना सन्तानलाई सुधार्न पुनस्र्थापना केन्द्रमा राख्ने गर्दछन् । पुनस्र्थापना केन्द्रमा बसेर फर्किएका ठूलो संख्या फेरि पुरानै बाटोमा हिडेको भेटिएका छन् । साहरा पुनस्र्थापना केन्द्रका सञ्चालक अभिराज क्षेत्रीले पुनस्र्थापना केन्द्रको उपचारमा बसेका ६० प्रतिशतमात्रै सफल भएको बताउनुभयो । पुनस्र्थापना केन्द्रमा बसेर निस्किएपछि फ्लो अफमा नआएका, कोर्स नसिध्याई निस्किेका, पारिवारिक एकीकरण अभाव वा आर्थिक अभावले ४० प्रतिशत उपचारबाट फर्किएका व्यक्ति पुनः प्रयोगकर्ता भएको क्षेत्रीको बुझाई छ ।

नेपालमा वर्षेनी १२ प्रतिशत नयाँ प्रयोगकर्ता थपिने तथ्यांक छ । नेपालगञ्जमा यो भन्दा बढी रहेको सम्बद्धहरु बताउँछन् । प्रहरी, लागु औषधी नियन्त्रण ब्यूरोले बाँकेमा दैनिक नै लागु औषधी कारोबारी पक्राउ गर्ने गर्दछ । नेपालगञ्ज कारागारमा ७ सय ५३ जना थुनुवा रहदा आधाजसो लागु औषधीका कैदीबन्दी रहेका छन् । जिल्ला प्रहरी वा मातहतका प्रहरी कार्यालयको थुनुवा कक्षमा लागु औषधीका थुनुवा अधिक छन् ।

ट्याब्लेटको ओसारपसार बढी
चालु आर्थिक वर्षको लागु औषधी पक्राउ तथ्यांकलाई हेर्दा ट्याब्लेटको ओसारपसार बढी भएको देखिन्छ ।
लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बाँकेमा सप्ताहव्यापी विविध कार्यक्रम गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक वर्षमा गतवर्ष भन्दा दोब्बर बढी ट्याब्लेट बरामद भएको छ ।

गतवर्ष एक हजार तीन सय १० वटा नाइट्रोजेपाम ट्याब्लेट बरामद भएकोमा यसपाली चार हजार २५ वटा ट्याब्लेट समातिएको छ । त्यस्तै, गतवर्ष एक हजार ७० वटा ट्रामाडोल समातिएकोमा यसपाली दुई हजार चार सय ३० वटा ट्याब्लेट बरामद भएको छ ।

नेपालगञ्ज हुँदै सीमावर्ती भारतीय शहर रुपैडिहा पुगेर बाँकेलगायत छिमेकी जिल्लाहरु सुर्खेत, दैलेख, दाङबाट आएका व्यक्तिले प्रायः ट्याब्लेट ओसारपसार गरेको पाइन्छ ।

बाँकेमा गतवर्ष ५ सय ७० ग्राम ब्राउनसुगर, २० किलो चरेश, ३४ किलो अफिम, ६८ किलो गाजा, ३९ लिटर कोरेक्स बरामद भएको थियो । यो वर्ष ८ सय ९० ग्राम ब्राउनसुगर, १४ किलो चरेश, २४ किलो गाजा, ८ टिर कोरेक्स समातिएको छ ।

प्रहरीले गतवर्ष ११ महिलासहित एक सय ९६ जनालाई पक्राउ गरेर १ सय २६ जनालाई मुद्दा चलाएको थियो । यो वर्ष १० महिलासहित एक सय ८५ जनालाई समातेर एक सय १२ जनालाई मुद्दा चलाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !