सिकलसेल नियन्त्रण गर्न यसो गर्न सकिन्छ

नेपालगञ्ज – थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल रोगलाई नियन्त्रणका लागि विवाह पूर्व जन्मकुण्डली मिलाउदेखि नौ महिनामै बच्चालाई जाँच गर्नुपर्नेलगायत विशेषज्ञ डाक्टरले सुझाव दिएका छन् ।

सिकलसेल रोगका बारेमा अध्ययन अनुसन्धान गरिरहेका भेरी अस्पताल, नेपालगञ्जका डाक्टर राजन पाण्डेले सिकलसेलबाट बच्नका लागि विभिन्न उपायहरु अगाडि सारेका हुन् । डाक्टर पाण्डेका अनुसार, विवाह पूर्व रगत जाँच गरेर मात्रै विवाह गर्ने । नौ महिनाको बच्चालाई दादुराको खोप लगाउन आउदा सिकलसेल जाँच गर्ने, गर्भवती महिलालाई सिकलसेल जाँच गर्ने, बिमामा सूचिकृत गर्ने, सबैको रेकर्ड राखेर काम गर्दा सिकलसेल नियन्त्रण गर्न सकिन्छ ।

सरकारले सिकलसेलका विरामीलाई एक लाखसम्मको औषधी दिने गर्दछ । भेरीमा औषधी खाइरहेका २० जनाको यो औषधीको सीमा सकिन थालेको छ । भेरीमा नियमित ८ सय ९४ जनाले उपचार गराइरहेका छन् ।

डा. पाण्डेले सिकलसेल भएका गर्भवतीको मृत्यु २२ गुणा बढी हुने दावी गर्नुभयो । बाँकेमा आमा मृत्युदर बढी रहेको छ । यद्यपि, थारु समुदायको आमाको मृत्युदर कम रहेको छ ।

स्वास्थ्य कार्यालय, बाँकेले थारु बस्तीमा सिकलसेलका रोगी र बाहक पत्ता लगाउने, उपचार गर्ने अभियान थालेको छ । राप्तीसोनारीमा ३ सय ७३ जनाको जाँच गर्दा ६३ जनालाई सिकलसेल देखिएको छ । ९ र १० कक्षा पढ्ने विद्यार्थीलाई विशेष फोकस गरेर जाँच गरिएको स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !