पाँच जना वडाध्यक्ष दोहोरिए, दश जना दोहोरिन सकेनन्

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा १५ जना निवर्तमान वडाध्यक्षले फेरि चुनाव लडे । तीमध्येमा पाँच जना दोहोरिएका छन् । दश जना पराजित भएका छन् ।

नेपालगञ्जमा २३ वटा वडा छन् । आठ जना वडाध्यक्षले फेरि चुनाव लडेनन् । चुनाव लडेकामध्ये पाँच जनामात्रै भाग्यमानी ठहरिए । दश जना असफल भए ।

एउटै पदमा फेरि दोहोरिन साह्रै गाह्रो हुने गर्दछ । पहिलो पटकमा चुनाव लड्न जस्तो सहज हुँदैन । पाँच वर्षसम्म काम गर्दा कतिपय रिसाएका हुन्छन् । यो अवधिमा कति खुशी पनि हुन्छन् । दोहोरिएर चुनाव लडेकामध्ये धेरै पराजित हुनुले खुशी हुने भन्दा रिसाउने नै बढी हुने कुरामा बल पु¥याउँछ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ मा हेरौ । वडाध्यक्ष प्रमोद रिजाल दोहोरिए । २०७४ सालको चुनावमा निकटतम प्रतिस्पर्धीलाई ३ सय १ मतले पराजित गरेका रिजालले यसपटक ५४ मत अन्तरले जिते । यो वडामा २०७४ सालमा एमालेले रिजालसहित तीन जना वडा सदस्य जितेको थियो । यसपटक वडाध्यक्षमात्रै जितेको छ । चार जना सदस्य कांग्रेसले जितेको छ ।

यसपटक कांग्रेसबाट साख्खै दाई विनोद रिजाल चुनाव लडेकाले प्रमोदको मत कटेको आकलन गरिएको छ ।
वडा नं. ३ का अयुव सिद्धिक पनि दोहोरिएका छन् । माओवादी केन्द्रका अयुवले यसपटक ठूलो चुनौतीका बीचमा चुनाव जिते । सिद्धिकीले पनि प्यानल नै जित्न सकेनन् ।

वडा नं. ६ का समीरप्रताप सिंह, १८ का दिपक बर्मा र १९ नम्बरका परशुराम कुर्मी दोहोरिएर वडाध्यक्ष भएका छन् । समीर र दीपक एमाले र परशुरामले कांग्रेसबाट वडाध्यक्ष जितेका हुन् ।

दश जना निवर्तमान वडाध्यक्ष पराजित भए । वडा नं. ५, ८, ११, १२, १४, १५, २०, २१, २२ र २३ नम्बरका निवर्तमान वडाध्यक्ष दोहोरिन सकेनन् । आठ वटा वडाका वडाध्यक्षले पुनः चुनाव लडेनन् ।

चुनावी सरगर्मी अर्थात टिकट बाँडफाँडको समयमा नेपालगञ्जमा दोहोरिन नचाहने वडाध्यक्ष १३ नम्बरका वीरेन्द्र शाहमात्रै थिए । शाहले शुरुदेखि नै म फेरि वडाध्यक्ष लड्दिन भनिरहेका थिए । शाहबाहेक सबै वडाध्यक्ष दोहोरिन चाहन्थे । निवर्तमान वडाध्यक्षलाई कति पार्टीले फेरि टिकट दिए त कतिले दिएनन् । दोस्रो पटक टिकट पाएका पाँच जना भने भाग्यमानी ठहरिएका छन् । उनीहरुलाई फेरि जनताले पत्याएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !