बाँकेमा गुम्यो एमालेको विरासत

नेपालगञ्ज – बाँकेमा एमालेको विरासत गुमेको छ ।
२०७४ सालको चुनावमा चार वटा पालिकाको नेतृत्व गरेको एमालेले यसपाली एउटा पनि जित्न सकेको छैन । कोहलपुर नगरपालिकाको नतिजा आउन बाँकी छ ।

बाँकेमा आठ वटा पालिका छन् । २०७४ सालमा एमालेले खजुरा, जानकी, बैजनाथ र कोहलपुर नगरपालिकाको नेतृत्व गरेको थियो । खजुरामा माओवादी कांग्रेसको गठबन्धनबाट माओवादी केन्द्रका डम्बर विक, बैजनाथमा कांग्रेसका प्रकाशबहादुर शाही र जानकी गाउँपालिकामा कांग्रेसका छब्बन खाँ विजयी भइसकेका छन् । कोहलपुर नगरपालिकामा कांग्रेसका पूर्णप्रसाद आचार्यले अग्रता लिइरहदा एमालेका खिलप्रसाद भुसालले पछ्याइरहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनबाट कांग्रेसका प्रशान्त विष्ट, राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल र डुडुवा गाउँपालिकामा कांग्रेसका नरेन्द्र चौधरी विजयी भइसकेका छन् । नरैनापुरमा कांग्रेस र जसपाका बीचमा प्रतिस्पर्धा भइरहेको छ ।

सरकारमा सामेल दलहरुका बीचमा गठबन्धन हुँदा एमालेले नराम्ररी धक्का खाएको छ । एमालेको उम्मेदवार चयनमा प्रश्न उठ्न थालेको छ । बैजनाथमा कोहलपुरमा बस्ने मान्छेलाई नदिई त्यहीका व्यक्तिलाई दिएको भए चुनाव जित्ने एकथरीको भनाई छ । बैजनाथ एमालेको राम्रो पकड भएको ठाउँ मानिन्छ । खजुरामा गठबन्धन हुँदा एमालेका उम्मेदवार पराजित भए । डुडुवामा एमालेले जित्ने आधार बनिसकेको छैन । राप्तीसोनारीमा प्रतिस्पर्धामा आएको थियो । नौ वटा वडामध्ये पाँच वटामा विजयी भएको थियो । नरैनापुरमा एमालेको राम्रो संगठन छैन । जानकीमा प्रतिस्पर्धामा आएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकामा एमालेले पाँच वटा वडा जितेको छ । यसअघि ६ वटा वडा जितेको थियो । २०७४ सालमा बाँकेमा आठ मध्ये चार वटा पालिका जितेर ठूलो पार्टी बनेको एमाले अहिले शून्यमा झरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !