नेपालगञ्जमा विष्ट जित नजिक

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेस र जसपा गठबन्धनका उम्मेदवार जित नजिक पुगेका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट मेयर र जसपाका कमरुद्दिन राई उपमेयरका उम्मेदवार छन् ।
नेपालगञ्जका २३ वटामध्ये १८ वटा वडा गनिसक्दा विष्टले निकटतम प्रतिस्पर्धी एमालेका पशुपतिदयाल मिश्रलाई आठ हजारबढी मत अन्तरले पछि पारेका छन् । विष्टले १८ हजार तीन सय ४८ मत ल्याएका छन् । एमालेका मिश्रले दश हजार पाँच र राप्रपाका नन्दलाल बैश्यले ६ हजार ५ सय ५४ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनका राईले १३ हजार तीन सय ३० मत ल्याएका छन् । एमालेका शान्ति ढकालले ९ हजार ४ सय ८७ र राप्रपाका विन्दु चर्तिमगरले ८ हजार ८ सय ८ मत ल्याएकी छन् ।

नेपालगञ्जका १८ वटा गनिसकिदा एमालेले ५, कांग्रेसले चार, जसपा, माओवादी र राप्रपाले तीन तीन वडा जितेका छन् ।
कोहलपुर नगरपालिका, बैजनाथ र जानकी गाउँपालिकामा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । कोहलपुरमा कांग्रेसका पूर्णप्रसाद आचार्यले ४ सय ८९ मतको अग्रता लिएका छन् । सात वटा वडा गनिसक्दा आचार्यले ६ हजार ३ सय २ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका खिलप्रसाद भुसालले ५ हजार ८ सय १३ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका संगीता सुवेदीले ६ हजार ५ सय ३२ र एमालेका सुस्मिता चौधरीले ५ हजार २ सय ११ मत ल्याएकी छन् ।

जानकी गाउँपालिकामा कांग्रेसले छब्बन खाँ र बैजनाथमा कांग्रेसका प्रकाश शाहले अग्रता लिइरहेका छन् । जानकीमा एमालेका हिमान्शु यादव र बैजनाथमा घननाथ खनालले पछ्याइरहेका छन् । नरैनापुरमा जसपाका मो. इस्तियाक अहमद शाह र कांग्रेसका रामचन्द्र मौर्य अघि पछि भइरहेका छन् ।

जिल्लाका आठ वटा स्थानीय तहमध्ये तीन वटाको नतिजा आइसकेको छ । डुडुवा र राप्तीसोनारीमा कांग्रेस र खजुरामा माओवादी कांग्रेस गठबन्धनले जितेको छ ।

जिल्लाका ८१ वटा वडामध्ये अहिलेसम्म ६० वटाको नतिजा आइसकेको छ । त्यसमा कांग्रेसले १८, एमालेले १६, माओवादीले १४ जसपाले ८ र राप्रपाले चार वटा वडा जितेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !