प्रशान्त विष्टको मेयरमा उम्मेदवारी दर्ता
नेपालगञ्ज – नेपाली कांग्रेसका प्रशान्त विष्टले नेपालगञ्जको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।
सुर्खेतरोडस्थित औद्योगिक क्षेत्र अगाडि रहेको पार्टी कार्यालयबाट बाजागाजा, नाराजुलुशसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका विष्टले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । प्रशान्तसँगै जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राईले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले मेयर र जसपाले उपमेयर लिने केन्द्रीय सहमति रहेको छ ।
वडाहरुमा भने एकल प्रतिस्पर्धा गर्ने भएका छन् । गठबन्धनबाट माओवादी केन्द्र बिच्किएको छ । नेपालगञ्जको सबै वडाहरुमा उम्मेदवारी दिने घोषणा गरिसकेको माओवादी केन्द्रले मेयर र उपमेयरमा स्वतन्त्र दिनेबारेमा छलफल गरिरहेको माओवादी नेता नविन शर्माले जानकारी दिनुभयो ।
नेपालगञ्जको मेयरमा जनप्रगति पार्टीका रामचन्द कुम्हारले उम्मेदवारी दर्ता गरेका छन् ।