टाइफाइड खोप दिन पालिकास्तरीय अभिमुखीकरण

खजुरा – बाँकेको खजुरा गाउँपालिकाले टाइफाइड रोगविरुद्ध खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात गर्नेबारेमा अभिमुखीकरण गरेको छ ।

यही चैत २५ देखि २९ गतेसम्म खजुराका विद्यालय र स्वास्थ्य केन्द्रमा खोप सञ्चालन गरिदैछ । खजुरा गाउँपालिका स्वास्थ्य शाखाले अभियानबारे शुक्रबार पालिकास्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरि १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई उक्त खोप दिइने जनाएको हो ।

स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले २१ हजार ८४ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागेको जानकारी दिनुभयो । जस अन्तर्गत विद्यालयका १४ हजार ९३, विद्यालय बाहिर ४ हजार ९ सय ६७ र १ हजार १ सय ८५ जना विद्यालय जाने उमेर नपुगेका बालबालिकालाई खोप दिने लक्ष्य रहेकोे स्वास्थ्य प्रमुख पौडेलले बताउनुभयो ।

राधापुर स्वास्थ्य चौकी इन्चार्ज दीपक ढकालले अभियानबारे जानकारी दिदै नियमित खोपमा अब टाइफाइडविरुद्धको खोप र कोरोना विरुद्धको खोप राखिएको भन्दै टाइफाइड विरुद्धको खोपको डोज एक मात्र हुने र १४ दिनसम्म अर्को खोप लगाउन नहुने बताउनुभयो ।

टिसिभी खोपबारे आयोजित कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख बमबहादुर केसी, वडा नं. ३ का वडाध्यक्ष कान्तुराम गौतम, ५ का अध्यक्ष देबेन्द्रमान श्रेष्ठ, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रासाद आचार्यलगायतले सचेतनासहित खोप दिनु सराहनीय कार्य भएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !