पीएम कप : पुलिस र हरियाणा फाइनलमा

नेपालगञ्ज – आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भारतको हरियाणा स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगितामा आइतबार हरियाणाले न्यू डायमण्ड एकेडेमी र पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

पहिलो खेलमा हरियाणाले न्यू डायमण्डलाई २५–१७, २५–१५, २३–२५ र २५–१६ ले हराएको थियो । न्यू डायमण्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित भएकी थिइन् ।

अर्को खेलमा पुलिसले आर्मीलाई २५–१८, २५–२३, र २८–२६ ले हराएको थियो । पुलिसकी कामना विष्ट प्लेयर अफ दी म्याच घोषित भइन् । उनलाई श्री भैरवप्रसाद गणका गणपति जनमत कार्की, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, पीएम कपका सल्लाहकार रेवती सिंह र अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड युक्यानको नेपालका लागि आधिकारिक विक्रेता सिटिएलकी निर्देशक शान्ति महर्जनले पुरस्कृत गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !