गाभरमा मौलिक भोजन मेला लाग्दै
नेपालगञ्ज – बाँकेको गाभर भ्यालीमा मौलिक भोजन मेला लाग्ने भएको छ ।
लुम्बिनी प्रदेशअन्तर्गत पर्यटन डिभिजन कार्यालयको सहयोगमा गाभर भ्यालीमा चैत्र १२ र १३ गते मौलिक भोजन मेला लाग्ने भएको हो ।
मौलिक भोजन मेला आयोजक मूल समितिका संयोजक कृष्ण चौधरीले रैथाने खाना, मौलिक भेषभूषा, कला संस्कृतिको प्रवद्र्धन गर्नका लागि मौलिक भोजन मेला लगाउने थालिएको जानकारी दिनुभयो ।
गाभरमा होमस्टेहरु सञ्चालनमा रहेका छन् । चौधरीले भन्नुभयो, रैथाने बिउबिजनहरु नास हुँदै गएका छन् । कतिपय रैथाने बालीहरु लोप भइसकेका छन् । अत्याधिक रासायनिक मल र विषादीको प्रयोग बढेको छ । हरेक समुदायका आ–आफ्ना मौलिक खाना र संस्कृति रहेका छन् । पत्रु खानाको संस्कति रोक्न र रैथाने मौलिक भोजनको प्रचार प्रसार गर्न हामीले मौलिक भोजन मेला गर्न थालेका हौ ।
गाभरमै १२ र १३ गते होमस्टे एशोसियसन नेपालको तेस्रो राष्ट्रिय सम्मेलन हुँदैछ । ६८ जिल्लाका एक हजार तीन सय होमस्टे सञ्चालक सम्मेलनमा सहभागी हुँदैछन् । सम्मेलनले नयाँ नेतृत्व चयन एशोसियसनका महासचिव प्रेमशंकर मर्दनीया थारुले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनको अवसर पारेर मौलिक भोजन मेला गर्न थालिएको आयोजकले बताएका छन् ।