भारतीय दुई डाँका पक्राउ

नेपालगञ्ज – नेपालमा आएर डाँका चोरीको धन्दा थालेका दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । कटुवा पेस्तोल देखाएर भारत निबियाका २६ वर्षीय डल्लु मनिहार र बाबागञ्जका २८ वर्षीय निजामुद्दिन कवडियाले बाँके र बर्दियामा डाँका चोरी गरिसकेका थिए ।

पुस २९ गते बर्दिया शितलाबजारका परशुराम सार्कीको घरमा रातीमा पेस्तोल देखाएर उनीहरुले तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेका थिए । माघ १७ गते बाँके खजुरा गाउँपालिका वडा नं. ४, डीगाउँका हरिप्रकाश विकको घरबाट ५० हजार नगद, साढे तीन तोला सुन र २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए ।

यी दुई भारतीय डाँकालाई बाँके प्रहरीले जानकी गाउँपालिका वडा नं. ५, बुढियागाउँबाट नियन्त्रणमा लिएको हो । बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले यी दुई जनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !