पैसा आउनेमा पेटी ठेकेदार, नचल्ने बन्द

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा २१ वटा सार्वजनिक शौचालय छन् । यी शौचालय सञ्चालनका लागि क्लिनर्स कन्सर्न सर्भिसलाई ठेक्का दिइएको छ ।
ठेकेदार कम्पनीले अर्को व्यक्तिलाई ठेक्का दिएर शौचालयबाट पैसा कमाइरहेको छ । भीडभाड नहुने अर्थात थोरै पैसा कमाइ हुने ठाउँका शौचालय बेवारिसे अवस्थामा रहेका छन् । बेवारिसे बनेका शौचालयको सरसफाईसमेत गराउन उपमहानगरपालिकाले सकेको छैन ।
लाखौं खर्च गरेर विदेशीले बनाइदिएको धम्बोझीचोकको अत्याधुनिक शौचालय बेवारिसे बनेको छ । धेरै कमाइ नहुने भएपछि ठेकेदारले यो शौचालयलाई तारबार गरेर राखेको छ । शौचालयको सरसफाई पनि गरेको देखिदैन ।
बजारको राम्रो कमाई हुने ठाउँका शौचालयमा ‘पेटी ठेकेदार’मार्फत ठेकेदारले राम्रो कमाइ गरिरहेको छ । जिल्ला अदालत अगाडि, बागेश्वरी मन्दिरभित्र, जमुनाहा नाका, जयसपुर, राँझा, हनुमानगढी मन्दिर, तरकारी मण्डी, महेन्द्र पार्क अगाडि, पिप्रहवाका शौचालयबाट राम्रो कमाइ भइरहेको छ । अदालतको शौचालयलाई मासिक ३० हजार, बागेश्वरी मन्दिर, जमुनाहा, जयसपुर, राँझाको शौचालयमा मासिक २०-२० हजार, हनुमान गढी मन्दिरमा मासिक दश हजार, पिप्रहवामा ६ हजार, तरकारी मण्डी र महेन्द्रपार्कमा मासिक तीन-तीन हजार लिने गरिएको छ । २१ मध्ये १५ वटाजति शौचालय पेटी ठेकेदारले चलाइरहेका छन् । यी शौचालय हेर्नेलाई सुविधा दिनका लागि नजिकै घुम्ती या सटर बनाइएको छ ।


आधा दर्जन शौचालय बेवारिसे अवस्थामा रहेका छन् । मासु मण्डीको शौचालयमा व्यापारीले खसी बाँधेको पाइन्छ । वडा नं. १९, २१, ८, उपमहानगरपालिका परिसरमै पश्चिमपट्टी रहेको सार्वजनिक शौचालय सञ्चालनमा छैनन् ।
प्रतिवर्ष ८ लाख ८० हजार रुपैयामा शौचालय सञ्चालनको ठेक्का दिइएको छ । मासिक ७३ हजार रुपैया पर्न आउँछ । उपमहानगरपालिकाले २१ वटा शौचालयका साथै चार वटा घुम्ती शौचालय, एउटा ट्याक्टर र चालक ठेकेदार कम्पनीलाई दिएको छ । ट्याक्टरबाट दैनिक कम्तीमा एक हजार कमाइ हुन्छ । चालकलाई मासिक ३० हजार रुपैया उपमहानगरपालिकाले दिएको छ । केही चलेको ठाउँको शौचालय सञ्चालनबाट उठेको रकम, ट्याक्टर र चालकको पैसा जोड्दा ठेकेदार कम्पनी मालामाल भएको देखिन्छ । उपमहानगरपालिकाले बेवारिसे अवस्थामा छोडिएका शौचालयको सरसफाई र सञ्चालनका लागि दबाबसमेत दिने गरेको छैन । उपमहानगरपालिकाले एउटा समिति बनाएर आफै सञ्चालन गर्दा नै सार्वजनिक शौचालय र ट्याक्टरबाट राम्रो आम्दानी गर्न सक्ने देखिन्छ । तर, उपमहानगरपालिका यो झन्झट व्यहोर्नेवाला छैन ।
नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले केही ठाउँबाहेक धेरै ठाउँमा सार्वजनिक शौचालय सञ्चालनमा रहेको बताउनुभयो । ‘केही ठाउँमा जनताको माग अनुसार नै सार्वजनिक शौचालय बनाइयो । तर, पछि प्रयोगमा आएको छैन, इन्जिनियर डिसीले भन्नुभयो, धम्बोझीको शौचालय सञ्चालनमा ल्याउन निर्देशन दिइसकेका छौं ।’


थन्किए घुम्ती शौचालय
नेपालगञ्ज उपमहानगरपालिकाले आधा करोडबढी खर्च गरेर चार वटा घुम्ती शौचालय किनेर ल्यायो । यी घुम्ती शौचालय पनि ठेकेदारको जिम्मा लगायो । शुरुवाती ६-७ महिना घुम्ती शौचालय राम्ररी सञ्चालनमा आयो ।
अहिले यी घुम्ती शौचालय थन्किएका छन् । उपमहानगरपालिकाले नगरका २१ वटा शौचालयसँगै चार वटा घुम्ती शौचालय पनि त्यही ठेकेदारलाई सञ्चालनको जिम्मा दिएपछि अहिले ती घुम्ती शौचालय ल्याण्डफिल साइटमा थन्किएका छन् । घुम्ती शौचालय चुहिने भइसकेका छन् ।
उपमहानगरपालिकाले मुख्य बजारमा घुम्ती शौचालय राख्ने र किनमेल गर्न आउनेलाई शौचालयको सुविधा दिने रणनीति बनाएको थियो । केही समय यो सुविधा दिइयो पनि । विस्तारै व्यापारीले पसल अगाडि भएको, चोकमा राख्दा ट्राफिक समस्या भएको बताउन थालियो । अन्ततः घुम्ती शौचालय थुन्किन पुगे ।
नेपालगञ्ज उपमहानगरपालिकाले तामझामका साथ घुम्ती शौचालय सञ्चालन गरेको थियो । अहिले थन्किदा मतलव राखेको पाइदैन । ‘माल पाएर चाल नपाएको’ अवस्था भएको छ । ठेकेदार कम्पनीले ट्याक्टर सञ्चालन र चलेका केही ठाउँका शौचालयबाटै मनग्गे कमाइरहेकाले घुम्ती शौचालयलाई थन्क्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वातावरण इन्जिनियर प्रकाश डिसीले जहाँ राखेपनि समस्या भएपछि अहिले घुम्ती शौचालय प्रयोगमा नआएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !