रोयल फाइनलमा, गणपतिलाई मायाको चिनो

नेपालगञ्ज – बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा रोयल नेपालगञ्ज फुटबल क्लव फाइनलमा प्रवेश गरेको छ ।
उमेश रेग्मीको ह्याट्रिकसहित ७–० गोलले सिटी युथलाई पराजित गर्दै रोयल नेपालगञ्ज फुटबल क्लव फाइनलमा प्रवेश गरेको हो । रोयलको जीतमा सञ्जय थापाले दुई गोल, सरोज चौधरी र नरेन्द्र शाहले एक-एक गोल गरेका थिए ।
अर्को खेलमा नेपालगञ्ज–११ ले एफसी–११ लाई पराजित गरेको छ । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । जसमा नेपालगञ्ज–११ ले ४–३ गोलले विजयी भयो ।
पाँच वटा टीम सहभागी भएको प्रतियोगिताको उद्घाटन नेपाली सेनाको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले रेफ्री तारा शाहीलाई बल हस्तान्तरण गरेर गर्नु भएको थियो । सो अवसरमा एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतको उपस्थिति थियो । बाँके जिल्ला फुटबल संघले खेल गतिविधिमा ठूलो सघाउ पु¥याएको भन्दै भैरवप्रसाद गणका गणपति कार्कीलाई मायाको चिनो दिएको थियो ।
आइतबारको खेल नेपालगञ्ज–११ विरुद्ध सिद्धार्थ युथ स्पोटर्स क्लवका बीचमा हुनेछ । प्रतियोगिताको विजेताले अर्को वर्ष जिल्ला लिग खेल्न पाउनेछ भने यो वर्ष हुने बाँके जिल्ला फुटबल संघको चुनावमा मताधिकार प्राप्त गर्नेछ ।


error: यो सुविधा उपलब्ध छैन !