पेन्टीभित्र ४८ ग्राम ब्राउनसुगर
नेपालगञ्ज – लागु औषधी नियन्त्रण ब्यूरोको टोलीले ठूलो मात्रामा लागु औषधी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, जमुनाहा नाकामा जाँच गर्दा भारतबाट नेपाल आइरहेका दाङका गौरव बुढाथोकी र बाँके राप्तीसोनारीका सुवास विकलाई ५५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । दाङ तुलसीपुरका बुढाथोकीले भित्री बस्त्र पेन्टीभित्र लुकाएर ४८ ग्राम ब्राउनसुगर ल्याएका थिए । प्लाष्टिकले बेरेर दुई वटा पोका बनाई पेन्टी भित्र राखिएको अवस्थामा प्रहरीले बुढाथोकीबाट ब्राउनसुगर बरामद गरेको थियो ।
राप्तीसोनारीका विकले जुत्ताभित्र राखेर सात ग्राम ब्राउनसुगर ल्याएका थिए । दाहिने खुट्टाको जुत्ता भित्र राखेर ब्राउनसुगर ल्याएका विकलाई शंका लागेर जाँच गरिएको थियो । दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज पठाइएको छ ।