विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
नेपालगञ्ज – ४१ वर्षीय शिक्षक हिक्मत रावललाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । आफैले पढाउदै आएको विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रावललाई पक्राउ गरेको हो ।
नेपालगञ्जको एक टक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई शिक्षक रावलले पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख गरिएको छ । पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
साउन २७ गते पुष्पलालचोकस्थित एक होटलमा बोलाएर शिक्षक रावलले छात्रालाई बलात्कार गरेका थिए । त्यसको दुई दिनपछि २९ गते फेरि त्यही होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । पहिलो पटक बलात्कार गर्दा भिडियो बनाएको दावी गर्दै शिक्षक रावलले आफूले भनेको नमानेमा त्यो बाहिर ल्याइदिने धम्की दिने गरेका थिए । मंसीर १० गते आफ्नै कोठामा बोलाएर शिक्षक रावलले बलात्कार गरेका थिए । छात्राले आउन नमान्दा भिडियो बाहिर ल्याइदिने धम्की दिने गरेको र मंसीर १० गते साँझ ५ बजेतिर कोठामा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
मंसीर २३ गते छात्राले जाहेरी दिएपछि शिक्षक पक्राउ परेका छन् । उनलाई सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।