गौरवको आयोजनामा कर्मचारी आउन मान्दैनन्

नेपालगञ्ज – गौरवको आयोजना सिक्टा सिंचाईमा कर्मचारी नै आउन नमान्ने गरेको खुलासा भएको छ । कर्मचारी अभावकै कारण आयोजनाको काम दु्रतगतिमा अघि बढ्न सकेको छैन ।
आयोजनाका प्रमुख रामप्रसाद अर्यालका अनुसार, सिक्टा सिंचाई आयोजनामा २५ जना कर्मचारीको दरबन्दी रहेको छ । त्यसमा दश जना रिक्त रहेका छन् । ६ जना दोस्रो तह, तीन जना तेस्रो तह र एकजना सब इन्जिनियरको दरबन्दी रिक्त रहेको छ । भएका १५ जनामा दश जना सब इन्जिनियर रहेका छन् ।
सिक्टा सिंचाई आयोजनामा कर्मचारी आउन नमान्न थालेको धेरै भएको छैन । शुरुवाती चरणमा सिक्टामा कर्मचारी आउन तछाडमछाड गर्थे । पछिल्लो तीन वर्षदेखि सिक्टा सिंचाई आयोजनामा कर्मचारी आउन मानिरहेका छैनन् । आयोजना स्रोतले भन्यो, ‘शुरुवाती चरणमा यहाँ राम्रा–राम्रा इन्जिनियर आउन तछाडमछाड गर्थे । पछिल्ला वर्षहरुमा आउनुस् भन्दा पनि आउन मानिरहेका छैनन् ।’
कर्मचारीसम्बद्धका अनुसार, सिक्टामा कर्मचारी आउन नमान्नुका दुई कारण रहेका छन् । एउटा अख्तियारले हात हाल्नु र अर्को यहाँ आउने हाकिमको बढुवाका लागि अतिरिक्त नम्बर नमिल्नु । सिक्टाले पानी छोड्दा दुई पटक नहर फुटेको थियो । २०७३ सालमा शुरुवाती परीक्षण गर्दा नै नहर फुट्यो । त्यसलाई मर्मत गरियो । फेरि पानी छोड्दा २०७५ सालमा नहर फुट्यो । घुलनशील माटोका कारण नहर फुटेको बताइएपनि अख्तियारमा मुद्दा प¥यो । अख्तियारले २० जनाविरुद्ध मुद्दा चलाएको छ । २० जनामध्ये १२ जना डिई रहेका छन् । फाइलमात्रै सदर गर्नेलाई पनि मुद्दा परेपछि कर्मचारी सिक्टामा आउन डराइरहेका छन् । ‘जो दोषी छ उसलाई मात्रै मुद्दा चलाएको भए कर्मचारीहरु यसरी तर्सिदैनथे, अख्तियारले पनि सबैलाई मुद्दा चलाएको छ, आयोजना स्रोतले भन्यो ।
सिक्टामा हाकिम आउन नमान्नु अर्को कारण बढुवाका लागि अतिरिक्त नम्बर नमिल्नु रहेको छ । यो ‘हिडन’ कारण मानिन्छ । ‘काठमाडौंमा बस्नु र नेपालगञ्जमा बस्नु उस्तै हो । बढुवाका लागि अतिरिक्त नम्बर पाइदैन, नेपालगञ्जलाई पनि सुगम जिल्ला मानिएको छ, कर्मचारी स्रोतले भन्यो, छिमेकी जिल्ला बर्दिया बस्दा अतिरिक्त नम्बर पाइन्छ । नेपालगञ्जमा बस्दा पाइदैन । यही भएर हाकिमहरु यहाँ आउन चाहदैनन् ।’
बाँकेका किसानको भविष्यसँग जोडिएको सिक्टा सिंचाई आयोजनामा कर्मचारी आउन नमान्दा दु्रतगतिमा काम हुन सकेको छैन । आर्थिक वर्ष २०६२÷६३ बाट काम शुरु भएको सिक्टाको अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ । सिक्टा नहर बन्दा जिल्लाको ४३ हजार हेक्टर जमिनमा सिंचाई सुविधा हुन्छ ।
सिक्टामा अहिलेसम्म पुलसहितको ३ सय १२ मिटर मूल बाँध सम्पन्न, ४५.२५ किलोमिटरको पश्चिम मूल नहर सम्पन्न, पूर्वी नहरमा ४० प्रतिशत काम सम्पन्न, पश्चिमतर्फका शाखाहरुको करिव ४० प्रतिशत काम सम्पन्न भएका छन् । पहिलो चरणका काम सम्पन्न भएका छन् भने दोस्रो चरणका शाखा, प्रशाखामा ४० प्रतिशत काम भएका छन् ।
६ वर्षमा काम सक्ने भनिएको सिक्टाको काम लम्बिएको लम्बियै छ । डुडुवा नहरमा पप्पु कन्ट्रक्सनले बदमासी गरिदिंदा पनि सिक्टाको काम पछाडी धकेलिएको छ । डुडुवाको २४ किलोमिटरमध्ये १८ किलोमिटर पप्पुलाई ठेक्का परेको थियो । लामो समयसम्ममा पप्पुले ७ प्रतिशतमात्रै काम सकेपछि उसलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइयो । पप्पुले ३० करोडको दावी गरेर अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा अहिले चलिरहेको छ । ठेकेदार कम्पनीले काम नगरेपछि नेपाल सरकारले उसलाई कारबाही गरेर जरिवाना तिराउनु पर्नेमा उल्टै काम गर्ने ठेकेदारले आयोजनाको काम प्रभावित हुने गरी मुद्दामामला गरिरहेको छ ।
१२ अर्ब ८० करोड शुरुवाती लागत राखेर काम शुरु गरिएको सिक्टामा अहिलेसम्म १७ अर्ब ७३ करोड रुपैया खर्च भइसकेको छ । आयोजनाको काम अझै ३० प्रतिशत बाँकी रहेको छ । आर्थिक वर्ष २०७८-७९ मा १.५३ अर्ब विनियोजन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !