देउवाको चेपुवामा पर्दै कोइराला ‘क्याम्प’

नेपालगञ्ज – सुशील कोइराला बाचुञ्जेल बाँके जिल्ला कांग्रेसको केन्द्रविन्दुमा रह्यो । पार्टीमा कोइराला पक्षको हालीमुहाली नै रह्यो । पार्टीको सभापति र प्रधानमन्त्रीसमेत भएका सुशील कोइरालाको निधनपछि बाँकेमा कोइराला पक्ष च्यापिदै गएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधरले कोइराला पक्षलाई पेलान शुरु गरेको छ । अहिलेसम्म पार्टी सभापतिमा बाजी मार्न नसकेको देउवा पक्षले यसपाली जसरी पनि ‘नेतृत्व’ हत्याउने दाउमा रहेको देखिन्छ ।
यही विवादले गर्दा वडा अधिवेशनको मुखैमा निर्वाचन समितिको सचिवालयमा तालाबन्दी भएको छ । देउवा पक्षधरले फर्जी नामावली जिल्लामा पठाउन तयार गरेको सुइको पाएपछि कोइराला पक्षले तालाबन्दी गरेको हो । जिल्ला सभापति किरण कोइरालाको उपस्थितिमै सचिवालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।
कांग्रेसको २७ गते वडा र ३० गते पालिका अधिवेशन रहेको छ । विवादमा परेका १३ जिल्लाका लागि यो तालिका सार्वजनिक गरिएको छ ।
बाँकेमा शुरुदेखि नै क्रियाशील सदस्यता विवाद देखिएको छ । विवाद मिलेर अधिवेशनको तयारीमा जुटिरहदा फेरि केन्द्रबाट २ सय ३९ जनाको नामावली जिल्लामा आउँदैछ भन्ने सुइको पाएपछि कोइराला पक्षधरले निर्वाचन समितिको सचिवालयमा तालाबन्दी गरेका छन् । कोइराला पक्षधर नेता पोषण केसीले केन्द्रबाट थप नामावली पठाउन थालेपछि पार्टी कार्यालयमा तालाबन्दी गरेको जानकारी दिनुभयो । केन्द्रले छुटपुट भन्दै २ सय ३९ जनाको नामावली पठाउन थालेको कोइराला पक्षधर नेताहरुको भनाई छ ।
क्रियाशील सदस्यको बढी विवाद क्षेत्र नं. १ मा देखिएको छ । अहिले थपिएको २ सय ३९ जनामध्ये पनि धेरैजसो क्षेत्र नं. १ कै रहेको कोइराला पक्षधर नेताहरु बताउँछन् । सुशील कोइराला पार्टीको केन्द्रविन्दुमा रहदा सधैं किनारामा परेका देउवा पक्षधरले यसपाली जसरी नेतृत्व हत्याउनका लागि आफूपक्षीय धेरै जनालाई क्रियाशील सदस्यता बाँडेको छ ।
जिल्ला सभापति रहेकै गुटले पार्टी कार्यालयमा रहेको सचिवालयमा तालाबन्दी गरेपछि फेरि बाँकेको अधिवेशन रोकिने अवस्था आएको छ । ‘विवादित कुरा नमिलेसम्म हामीले अधिवेशन गर्न दिदैनौ, केसीले भन्नुभयो, पहिला आइसकेको नामबाहेक अरु थप्न पाइदैन ।’
पार्टीले बाँकेमा निर्वाचन गराउन रेवतीरमण भट्टराईलाई पठाएको छ । अधिवेशनको मुखमै विवाद भएपछि फेरि अधिवेशन सर्ने अवस्था आएको छ । निर्वाचन तालिका अनुसार, २७ गते वडा अधिवेशन, ३० गते पालिका अधिवेशन, मंसीर ३ गते प्रदेश सभा क्षेत्र अधिवेशन, ६ गते प्रतिनिधि सभा र १० गते जिल्ला अधिवेशन रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !