भेरी अस्पताललाई ‘विकल्प’ दिन रेडक्रसको आग्रह

नेपालगञ्ज – नेपाल रेडक्रस सोसाइटी, बाँकेले भेरी अस्पताल हाताभित्र रहेको रक्त सञ्चार केन्द्र हटाउने हो भने विकल्प दिन आग्रह गरेको छ ।
अस्पतालले १५ दिनभित्र रक्त सञ्चार केन्द्रको व्यवसायिक भवन हटाउन पत्र पठाएपछि रेडक्रसले त्यसप्रति असन्तुष्टि जनाउदै विकल्पको माग गरेको हो ।
रेडक्रसले बुधबार पत्रकार सम्मेलन गरेर विकल्प खोजेपछि भवन तोडफोड गरिदिन आग्रह गरेको छ । रेडक्रस बाँकेका सभापति गोवर्धनसिंह सम्झनाले भन्नुभयो, रक्त सञ्चार केन्द्र बिना अस्पतालको परिकल्पना गर्न सकिदैन । रक्त सञ्चार केन्द्र त्यहाँबाट हटाउने हो भने तपाईहरुले पनि विकल्प दिनुस् । हामी पनि विकल्प खोज्छौं । १५ दिनभित्र नै खाली गर्न सम्भव छैन ।’
भेरी अस्पताल परिसरमै रक्त सञ्चार केन्द्र रहेको छ । अस्पतालले रक्त सञ्चार केन्द्र भवन रहेको ठाउँलगायत अगाडिका सटर खाली गरेर स्तरबृद्धि र सौन्दर्यकरण गर्न खोजेको छ । अस्पताल परिसरमा रेडक्रसको दुई तले रक्त सञ्चार केन्द्र र त्यसको छेउमै ६ वटा सदरसहितको एक तले भवन रहेको छ । त्यहाँबाट रेडक्रसले वार्षिक १२ लाख ७२ हजार रुपैया संकलन गर्दै आएको छ । यो पैसा रक्त सञ्चार सेवाको व्यवस्थापनमा खर्च भइरहेको रेडक्रस बाँकेले जनाएको छ ।
आफ्नो जग्गामा रेडक्रसले भवन र सटर बनाएर पैसा उठाइरहेको प्रति अस्पतालको आपत्ति रहदै आएको छ ।
बाँकेमा वि.सं. २०३३ सालदेखि रगत संकलन तथा आपूर्ति हुँदै आएको छ । २०३३ सालमा सात युनिट रगत संकलन तथा आपूर्ति गरेको रक्त सञ्चार केन्द्रबाट हाल वार्षिक १३ हजार पिन्ट रगत आपूर्ति भइरहेको छ । रक्त सञ्चार केन्द्रमा करिव आठ हजार स्वयंसेवीि रक्तदाता (संस्थागत र व्यक्तिगत) आवद्ध रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !