कमरेड केपी ओलीको ‘जूसी’ भाषण

बसन्तकुमार उपाध्याय
नेपालगञ्ज – मूल गेटमा जुससहितका गिलासले होटलले उनलाई स्वागत गरे पनि उनले ती जुसका गिलास त उठाएनन् तर आफ्ना कार्यकर्ताहरुलाई उत्साह थप्न जूस भरिएको ‘जूसी’ भाषण गरे ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार नेपालगञ्जमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गलत ढङ्गले पार्टी कब्जा गर्न खोज्नेहरुलाई कार्यकर्ताहरुले परास्त गरेको धारणा राखेका छन् ।
अध्यक्ष ओलीले नेपालगञ्जमा उपस्थित कार्यकर्ताहरुमाझ पार्टी विभाजनको असरलाई कम गर्ने खालको धारणा राखेका हुन् । आफ्नो पुरानै लयमा उखान टुक्का जोड्दै कार्यकर्तालाई कार्यक्रम हलमा बेस्सरी हँसाए । बेला बेला कार्यकर्ताको गलगलाहट हाँसोले कार्यक्रम हल गुन्जन्थ्यो । बीच बीचमा तालिका गडगडाहटले होटल सिद्धार्थ भ्यूको हलमा कार्यकर्ताले अध्यक्ष ओलीलाई उनको भाषणको लयमा साथ दिए ।
माधव नेपाल प्रति कटाक्ष गर्दै उनिहरुले माक्र्सवाद र लेनिनवादको बदनाम गरेको भन्दै ‘शेरबहादुर वाद’ लेखेर हिंडन भन्दै ललकारे ।
पार्टीको वहाब रोक्न कोसिस गरेकाहरु किनारा लागेको भन्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्ति पाखा लाग्दा पार्टीलाई कुनै घाटा नभएको दावी समेत गरे । एमालेको फुटलाई लक्षित गर्दै कार्यकर्ताहरुलाई निरन्तर पार्टी संगठन निर्माणमा लाग्न निर्देशन पनि दिए ।
पदका लागी मरिहत्ते नगर्न कार्यकर्ताहरुलाई सुझाउँदै पद नै चाहिने भए एमाले मै लागिरहनु भएन सम्म पनि भन्न भ्याए ।
यतिबेला बनेको सरकार जनादेश विनाको सरकार भएको भन्दै अध्यक्ष ओलीले गठबन्धन नै गलत उद्देश्यले भएको टिप्पणी गरे । सरकार विस्तार हुन नसकेको विषयलाई उनले सत्ता गठबन्धनको कम्जोरीको प्रमाणका रुपमा बुझ्नु पर्ने बताए ।
हामी सरकारबाट हटेको नभएर हटाईएको भन्दै उनले जनादेश र परमादेशको आफ्नो भनाई नेपालगञ्जमा पनि पटक-पटक दोर्याएका छन् ।
आफ्नो भाषणमा अध्यक्ष ओलीले माधव नेपाल र पुष्पकमल दाहाल प्रति कटाक्ष गर्दै भने कम्युनिष्टको नयाँ मुकुन्डो लगाएर कम्युनिष्टको बदनाम गराएको समेत आरोप लगाए ।
अगुवा कार्यकर्ताहरुलाई आफ्नो नेतृत्वको सकारले गरेका कामहरुको फेहरिस्त गनाउँदै चुनावमा जाँदा ती कामहरुको ब्यापक चर्चा गर्न समेत निर्देशन दिए ।
पार्टी विभाजन पछि पहिलो पटक बाँके र बर्दियाका कार्यक्रमहरुलाई सम्बोधन गर्ने नेपालगञ्जमा आईपुगेका पूर्व प्रधनमन्त्री ओली आजै काठमाडौं फर्किए ।


error: यो सुविधा उपलब्ध छैन !