नाकामा देखिएका कोरोना पोजिटिभलाई सिधैं घर पठाइदै

नेपालगञ्ज – भदौ ३१ गते भारतको सिमलाबाट आएका पाँच जना नेपालीलाई कोरोना देखियो । नाकामा गरिएको एन्टिजेटमा कोरोना पोजिटिभ देखिएका उनीहरुलाई डबल मास्क लगाउन लगाएर सिधैं घर पठाइयो ।
भारतबाट आउने हरेक नेपालीको नाकामा कोरोना जाँच हुन्छ । चैत्र महिनादेखि नै यो क्रम चलेको छ । शुरु शुरुमा कोरोना पोजिटिभ देखिदा डरको वातावरण हुन्थ्यो । संक्रमितलाई एम्बुलेन्समा राखेर अस्पतालमा लगिन्थ्यो । उपचार गरिन्थ्यो । स्थानीय प्रशासन, जिल्ला रेडक्रससँग मिलेर नेपालगञ्ज उपमहानगरपालिकाले राम्रो व्यवस्था मिलाएको थियो । कोरोना संक्रमित ‘किट’ दिएर पठाइन्थ्यो । त्यहाँ मास्क, स्यानीटाइजर, नङकटलगायतका सामान हुन्थ्यो ।
भदौ १० गतेपछि यी सबै व्यवस्था हटेको छ । अहिले त कोरोना पोजिटिभलाई सिधैं घर पठाउने गरिएको छ । न संक्रमितलाई लिन एम्बुलेन्स जान्छ न त उनीहरुले किट नै पाउँछन् । आफैलाई किन्न लगाएर डबल मास्क लगाएर पोजिटिभलाई घर पठाउने गरिएको छ ।
संक्रमितलाई सिधैं घर पठाउने हो भने नाकामा जाँच किन गर्नु प¥यो प्रश्न उब्जिएको छ । पोजिटिभ देखिएकालाई उपचार गर्न सकिदैन, मास्कसमेत दिन सकिदैन भने किन नाकामा जाँच गर्नु प¥यो, सिधैं नजाँचेरै घर पठाइदिए भइहाल्छ नि, जानकारहरु बताउँछन् ।
दशैं नजिकिदै गर्दा नाकामा भारतबाट घर फर्किनेको संख्या बढ्दै गएको छ । अहिले दैनिक हजार बढी मानिस घर फर्किरहेका छन् । दशैं नजिकिदा दैनिक ५ हजारसम्म मानिस यो नाकाबाट घर फर्किन्छन् । यो बेलामा दुई जना ल्याब असिस्टेन्टले नाकामा जाँच गर्न भ्याउने अवस्था छैन । जाँच भइहाले पनि पोजिटिभ चिन्नेबाहेक केही हुन सकेको छैन ।
घर फर्किनेको संख्या बढ्दै गर्दा अहिले समूहमा आएकामध्ये एक÷दुई जनाको जाँच गर्ने र उनीहरुको नेगेटिभ आएमा अरुको जाँच गरिदैन । ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवाली भन्नुहुन्छ, ‘दैनिक फर्किनेको संख्या बढिरहेको छ । अहिले हामीले पाँच जनाको समूहमा आएको छ भने दुई जनाको जाँच गर्ने र नेगेटिभ आएपछि अरुलाई जाँच नगर्ने गरेका छौं ।’ ल्याब टेक्निसियन ज्ञवालीका अनुसार, शुरुवाती दिनमा गुजरात, मुम्बई, दिल्लीबाट आएका व्यक्तिलाई फोकस गरेर कोरोना जाँच गरिन्थ्यो । अहिले सबै ठाउँबाट आएका व्यक्तिको जाँच हुन्छ । पछिल्लो समयमा सिमला, कालापहाड, प्रयागबाट आएका व्यक्तिमा फाटफुट कोरोना देखिएको छ ।
पहाडी जिल्ला दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सल्यानका धेरै मानिस मौसमी कामका लागि कालापहाड, सिमला, प्रयाग जाने गर्दछन् । खेती लगाउने र चाडबाडमा उनीहरु घर फर्किने गर्दछन् । अरु बेला काममा जान्छन् । भारतबाट कोरोना बोकेर फर्किएका उनीहरुलाई नेपालगञ्ज नाकामा कोरोना पोजिटिभ पुष्टि गरेर पठाउदा गाउँघरमा उनीहरुको अवस्था के होला ? सोचनीय विषय बनेको छ । ल्याब टेक्निसियन ज्ञवालीले पोजिटिभ देखिएकालाई सम्झाई बुझाई गरेर घर पठाउने गरेको बताउनुभयो ।
नाकामा रहेको हेल्थ डेस्कबाट नेपालगञ्ज उपमहानगरपालिकामा एउटा पत्र पठाएर पोजिटिभ देखिएका व्यक्तिलाई लैजाने साधन र बस्ने व्यवस्था मिलाउन भनिएको छ । पत्र पठाएको चार दिन भइसक्यो । उपमहानगरपालिकाबाट कुनै रेस्पोन्स भएको छैन ।
नेपालगञ्ज नाकामा चैत्रदेखि अहिलेसम्म ३२ हजार पाँच सय जनाको एन्टिजेन जाँच भएको छ । त्यसमा ३ सय ६७ जनालाई कोरोना पुष्टि भएको छ । असोज महिना लागेपछि यो तीन दिनमा एक हजार जनाको जाँच गरिएपनि एकजना पनि पोजिटिभ देखिएका छैनन् ।


error: यो सुविधा उपलब्ध छैन !