एमालेले संसदमा नाटक गरिरहेको नेपालको टिप्पणी
नेपालगञ्ज – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टीले संसदमा नाटक गरिरहेको टिप्पणी गर्नु भएको छ ।
युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा नेपालगञ्जमा आयोजित प्रदेश भेला एवं पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सर्वोच्च अदालतले नै ह्वीप लाग्दैन भनेको विषयलाई लिएर संसदमा नाटक गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले ह्वीप लाग्दैन भनेको छ । अदालतमा विचाराधीन विषय छ । अदालतमा विचाराधीन रहेको विषय भएकाले संसदमा उठाउन पाइदैन । यस्तो कुरालाई लिएर सभामुख, निर्वाचन आयोगको मानमर्दन गरेको छ । यो सब नाटक हो ।’
अध्यक्ष नेपालले १० बुँदे सहमतिलाई पनि नाटक भन्नु भएको छ । १० बुँदेमा ओलीले इमान्दार नदेखाएको कुरा साथीहरुले नबुझेको नेपालको भनाई थियो । एमालेका अध्यक्ष ओलीप्रति आक्रमक देखिएका नेपालले ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको बताउनुभयो । उहाँले एमालेलाई ओलीको निजी कम्पनीको रुपमा परिणत भएको आरोप लगाउनुभयो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले एमसीसी नेपालको हितमा छ भन्ने ग्यारेन्टी भएपछि मात्रै अघि बढाइने बताउनुभयो । नेता नेपालले माओवादीसँग पार्टीको एकता हुने संभावना नरहेको बताउनुभयो । उहाँले चुनावसम्म ५ दलीय गठबन्धन बन्ने जानकारी दिनुभयो ।
युवा संघ लुम्बिनीका अध्यक्ष किशोर थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु दलबहादुर सुनार, कौशिला सिंह, कैलालीका अध्यक्ष दीर्घ सोडारी, रुपन्देहीका अध्यक्ष राजु गुरुङ, युवा संघका अध्यक्ष नरेश शाही, युवा संघ लुम्बिनी इन्चार्ज सरिता श्रीसले मन्तब्य राख्नु भएको थियो ।
यसैबीच, दाङका प्रेम बुढाको अध्यक्षतामा ३५ सदस्यीय पिपुल्स भोलेन्टियर गठन गरिएको छ ।