निकुञ्जको पत्रकारसँग अन्तरक्रिया

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जले शनिबार पत्रकारसँग अन्तरक्रिया गरेको छ ।
निकुञ्जले पत्रकार अन्तरक्रियामा निकुञ्जको स्थापनादेखि भए गरेका काम र विशेष गरी यो वर्ष गरेका काम कारबाहीका बारेमा जानकारी दिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले वन्य जन्तु संरक्षणका लागि घाँसे मैदान, पानीपोखरी, वनपथ, तारबार, अग्नी रेखा निर्माण, पोष्ट स्थापना गरेको जानकारी दिनुभयो । निकुञ्जको लागि सधैंको चुनौती बन्ने गरेको चोरी शिकारी नियन्त्रण, मानव वन्यजन्तु टकराव, राजमार्ग तथा सिक्टा नहरमा जनावरको दुर्घटनालाई रोक्न लागि परेको वार्डेन शाहले बताउनुभयो । वार्डेन शाहका अनुसार, सडक दुर्घटना र नहरमा डुबेर ६८ वटा जनावरको मृत्यु भएको छ भने २९ वटा वन्यजन्तुको उद्धार गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ रहेका छन् । यहाँ लोपोन्मुख चौका प्रशस्त रहेको विश्वास गरिएको छ । बाघका आहारा प्रजातीका जनावर पनि प्रशस्त रहेका छन् ।
सरकारले सय वटा पर्यटकीय क्षेत्र घोषणा गर्दा यो निकुञ्ज ५७ नम्बरमा परेको छ । यद्यपि, अहिलेसम्म यहाँ खासै पर्यटकको संख्या बढ्न सकेको छैन । २०६७ असार २८ गते स्थापना भएको निकुञ्ज ५ सय ५० वर्गकिलोमिटरमा फैलिएको छ । ३ सय ३० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्र पर्दछ ।
पत्रकार अन्तरक्रियामा राष्ट्रिय प्रकृतिक संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका रविन कडरियाले विश्वमा बाघको अवस्था र पर्यटन प्रवद्र्धनका सवालमा प्रस्तुती गर्नु भएको थियो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन प्रवद्र्धन मञ्चका कृष्णप्रसाद श्रेष्ठ, गाभर होमस्टेका कृष्ण चौधरी, निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेलगायतले बोल्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !