खजुराले दुई सय युवालाई रोजगारीमा जोड्दै

खजुरा – खजुरा गाउँपालिका क्षेत्रभित्रका करीब दुई सय युवालाई व्यवसायिकतामार्फत रोजगारीमा जोड्न थालिएको छ । सो अभियान अन्तर्गत आइतबार ४० जना युवालाई व्यवासाय सञ्चालनका लागि ४० हजार अनुदान रुकम वितरण गरिएको छ ।
खजुरा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपालको सहकार्यमा उनीहरुलाई बाख्रा र बंगुर पालनका लागि उक्त रकम वितरण गरेको हो । व्यवसायिक योजना अनुरुप अगाडि बढेको खण्डमा उनीहरुलाई सहयोग रकम थप हुँदै जाने बताइएको छ । परियोजना ३ वर्षसम्म सञ्चालन हुने जनाइएको छ ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले युवा उद्यमीलाई अनुदान रकमको चेक हस्तान्तरण गर्दै दुई सय युवाहरूलाई उधमशीलता अन्तर्गत ३ वर्षमा गाउँपालिकाले ५ करोड रुपैयाँ लगानी गर्ने बताउनुभयो । उहाँले बाख्रा, बंगुर र ट्रकी पालनमा जोड दिएकोमा हाल बाख्रा र बंगुर पालनको मात्र माग भएको बताउनुभयो ।
चालू आर्थिक वर्षमा ४० जनालाई बाख्रा र बंगुर पालनका लागि ४० हजारका दरले दिइएकोमा आगामी दिनमा २ सय जनामा विभिन्न व्यवसाय सञ्चालनका लागि उक्त कार्यक्रम सञ्चालन गरिनेछ ।
निर्वाचित भएको ४ वर्षमा एक सय एक बुँदे घोषणापत्रमा ६८ बुँदा पूरा गरेको पनि अध्यक्ष कक्षपतिले बताउनुभयो ।
अध्यक्ष कक्षपतिले कोभिडले विकास र नियमितमा काममा प्रभाव पारेकोले ग्रीन सिटीको २ अर्बको प्रोजेक्ट अगाडि बढ्न नसककोमा निकट भविष्यमा अगाडि बढने बताउनुभयो । उक्त कार्यक्रम अन्तर्गत आमा, बहिनी समूह गठन र आधारशिला तालिम दिइने छ ।
खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले युवाहरूलाई उद्यमी बनाउने उद्देश्य अनुरुप युवाहरूलाई अनुदान दिइएकोमा व्यवसायिक योजना बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, योजना बिना कार्यक्रम सफल नहुँने भएकाले व्यवसायिक योजनाका साथ अगाडि बढ्नु पर्छ ।
खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम ओलीले सानो लगानीबाट अर्बपति भएका धेरै उदाहरण भएकाले रोजगारमा सहयोग पु¥याउन गरिएको यो सहयोगलाई भरपूर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले वैदेशिक रोजगारबाट फर्किएका वा युवा जो उद्यम गर्न चाहन्छ त्यस्तालाई सहयोग पु¥याउँदै उद्यमशीलताको माध्यमबाट रोजगारी सृजना गर्न कार्यक्रम लागू गरिएको बताउनु भयो ।
हेफर प्रोजक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पोख्रेल, परियोजना संयोजक प्रेम विकले त्रिपक्षीय रुपमा सम्झौता गरेर गरिने व्यवसाय भएकाले सफल बन्ने सुत्रका बारेमा सहजीकरण गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !