कोरोना नियन्त्रणमा खजुराको अगुवाई

नेपालगञ्ज – बैशाख ३ गते जिल्ला प्रशासन कार्यालयको हलमा सर्वपक्षीय बैठक थियो । बैठकमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले पटक–पटक आग्रह गर्नुभयो, ‘छिटो लकडाउन गरौं । अवस्था डर लाग्दो भइसक्यो ।’
कोरोनाका विरामी बढ्दो थियो । बैठकमा गाउँपालिकाहरुले क्वारेन्टाइन, आइसोलेसन सेन्टर बनाएर तयारी अवस्थामा रहन भनियो । भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापा र खजुराका अध्यक्ष कक्षपतिले अवस्था भयावह बन्दै गइरहेकाले छिटो लकडाउन गरेर मान्छेको मुभमेन्ट कन्ट्रोल गर्न आग्रह गरेका थिए ।
बैठक कुनै ठोस निर्णय विना नै सकियो । भर्खरै जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले रिस्क लिन चाहेनन् ।
कोरोनाको भयावह अवस्थालाई बैशाख शुरुवातमै आकलन गरिसकेका खजुराका अध्यक्ष कक्षपतिले आफ्नो पालिकामा पूर्वतयारीलाई दु्रतगतिमा अगाडि बढाउनु भयो । बैशाख १३ गतेदेखि जनक शिक्षा सामाग्री केन्द्र र राधापुर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर तयार पारियो । जनक शिक्षामा ४० बेडको आइसोलेसन सेन्टर बन्यो । ४० मा २० बेड अक्सिजनसहितको थियो । राधापुरमा १० बेड मै अक्सिजनको व्यवस्था गरियो ।
खजुराले अरु पालिका भन्दा पहिला नै अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार पा¥यो । कोरोना नियन्त्रणमा खजुराले अरुलाई लिड नै ग¥यो भन्दा हुन्छ । खजुराका कोभिड फोकलपर्सन सुदीप पौडेलका अनुसार, जनक शिक्षामा ५३ जना र राधापुरमा २१ जनाले सेवा लिए । यहाँका विरामी सबैजसोलाई अक्सिजन दिनु परेको थियो । ‘समस्या भएकालाई मात्रै आइसोलेसन सेन्टरमा आउन भनेका थियौं । त्यही भएर यहाँका ९५ प्रतिशतलाई अक्सिजन दिनु परेको थियो, फोकलपर्सन पौडेलले भन्नुभयो, समस्या नभएकालाई वडा वडामै तोकिएका फोकलपर्सनले घरमै गएर सेवा दिनु भयो ।’
खजुराका सबै वडामा फोकलपर्सन तोकिएको थियो । धेरै विरामी भएका वडामा धेरै जना फोकलपर्सन तोकिएको छ । वडा नं. २ मा चार जना र ३ नम्बरमा दुई जना फोकलपर्सन तोकिएको थियो । फोकलपर्सनहरु संक्रमित भएका ठाउँमा गएर हेर्थे । समस्या भएकालाई आइसोलेसन सेन्टरमा रिफर गर्थे । उनीहरु सामान्य औषधी लिएर घरघरमा जाने गर्दथे ।
पूर्वतयारी र सुविधाका बाबजुद खजुरामा कोरोनाबाट ठूलो क्षति भयो । ३४ जनाको मृत्यु भयो । वडा सदस्य जाकिर हुसैन, शिक्षक डिल्लीकमल रेग्मी र पालिकाका पशु शाखा प्रमुख रत्नबहादुर शाहीको कोरोनाबाट मृत्यु भयो । पालिकामा ७ सय ९३ जना संक्रमित भए । फोकलपर्सन पौडेलका अनुसार, वडा नं. २ र ३ मा बढी संक्रमित र मृत्यु भयो । वडा नं. ६ मा कसैको पनि मृत्यु भएको छैन ।
वडा नं. १ मा ५४ जना संक्रमितमा दुई जनाको मृत्यु, वडा नं. २ मा एक सय ६२ जना संक्रमितमा १३ जनाको मृत्यु, वडा नं. ३ मा ३ सय ७ जना संक्रमितमा १२ जनाको मृत्यु, वडा नं. ४ मा एक सय ३० जना संक्रमितमा ३ जनाको मृत्यु, वडा नं. ५ मा ६३ जना संक्रमितमा १ जनाको मृत्यु, वडा नं. ६ मा २६ जना संक्रमित, वडा नं. ७ मा ३६ जना संक्रमितमा मृत्यु २ जना, वडा नं. ८ मा १३ जना संक्रमित हुँदा एकजनाको मृत्यु भएको छ ।
खजुराले एन्टिजेट परीक्षण ग¥यो । ६ सय ४० जनाको परीक्षण गर्दा एक सय ४९ जनामा कोरोना पुष्टि भयो । लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेकालाई एन्टिजेन परीक्षण गरिएको थियो । फोकलपर्सन पौडेलले समयमै एन्टिजेन परीक्षण गरिएकाले समुदायमा धेरै कोरोना फैलिन नपाएको बताउनुभयो ।
जिल्लामा अक्सिजनको चरम अभाव हुँदा खजुराको आइसोलेसनमा बसेकालाई धेरै समस्या नभएको फोकलपर्सन पौडेलले बताउनुभयो । ‘अक्सिजन दिनु पर्ने विरामीलाई अतिरिक्त अक्सिजन छेउमा राखिदिएर मनोबल बढाउने काम गरेका थियौ, फोकलपर्सन पौडेलले भन्नुभयो, विरामीलाई अक्सिजन नभएर मृत्यु हुँदैन भन्ने देखाउन छेउमा अर्को अक्सिजन राखिदिने गरेका थियौ ।’
खजुराका आइसोलेसनमा अहिले कोही पनि छैनन् । पालिकाभित्र जम्मा ८ जना संक्रमित छन् । उनीहरु होम आइसोलेसनमा रहेका छन् । दोस्रो लहरको कोरोना खजुरामा मात्रै होइन, जिल्लाभरी नै कम भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !