राप्ती नदीको सतह ‘डेन्जर जोन’ नजिक

नेपालगञ्ज – राप्ती नदीमा पानीको सतह बढिरहेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।
लगातारको वर्षापछि नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ । जिल्ला विपद व्यवस्थापन समिति, बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले नदीमा पानीको सतह ५ मिटर एक सेन्टीमिटर पुगिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, यो सतर्कता गराउने तह भएकाले तटीय क्षेत्रका गाउँमा सचेत गराइएको छ ।
राप्तीमा ५.४ मिटर पुगेपछि डेन्जर मानिन्छ । यो लेबलमा पुगेपछि गाउँमा पानी पस्ने गर्दछ । ‘नदीको सतह बढ्दै छ । हामीले तटीय क्षेत्रको होचो भागमा परेका गाउँहरुमा सचेत रहन आग्रह गरिसकेका छौं, सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले भन्नुभयो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले नदीको सतह बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउनुका साथै उद्धार गर्नु पर्ने भएमा सुरक्षाकर्मी तयारीका साथ बसेको बताउनुभयो ।
राप्ती नदीमा कुसुममा सतहको मापन गरिन्छ । त्यहाँबाट तल्लो तटीय क्षेत्रमा पानी आइपुग्दा केही घण्टा लाग्ने गर्दछ ।
राप्ती नदीसँगै जिल्लाका मानखोलाको पनि सतह बढेको छ । मानखोलाको सतह पनि डेन्जरजोन नजिक पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !