निषेधाज्ञा लम्ब्याइयो, किनमेलको अवधि बढाइयो
नेपालगञ्ज – बाँकेमा असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जनजीवनलाई क्रमिक रुपमा सहज गराउदै लगिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना संक्रमण दर घटेको भएपनि अझै जोखिम कायम रहेकाले निषेधाज्ञालाई ७ गतेसम्म लम्ब्याइएको जानकारी दिनुभयो ।
यो पालीदेखि दैनिक उपभोग्य बस्तुलगायत पसल व्यवसाय विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । शुरुमा ७ देखि ९, त्यसपछि ७ देखि ११, ७ देखि १२ हुँदै ७ देखि २ बजेसम्म गराइएको छ ।
नेपालगञ्जमा बैशाख ९ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । बाँके जिल्लाभरी बैशाख १३ गतेदेखि निरन्तर निषेधाज्ञा लगाइएको छ ।
जिल्लामा कोरोना संक्रमणदर भने ह्वात्तै घटेको छ । परीक्षण गर्न आउने पनि कम भएका छन् । सोमबार एक सय ४८ जनाको परीक्षण भएकोमा ४८ जनामा कोरोना देखिएको छ । त्यसमा बाँकेका नौ जना रहेका छन् ।
भेरी अस्पतालमा ९८ जनाको जाँच गर्दा ३९ जना, कोहलपुर मेडिकल कलेजमा ३४ जनामा ४ जना र बागेश्वरी ल्याबमा १६ जनाको जाँच गर्दा ५ जनामा कोरोना भएको छ ।