साइकल चढौं, वातावरण जोगाऔं

सतिश निरौला (खजुरा) – साइकल वातावरणमैत्री सवारी साधन हो, यसले अन्य पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले जस्तो वातावरणमा नराम्रो असर गर्दैन । त्यसैले वातावरणीय हिसाबले पनि दैनिक जीवनमा साइकलको प्रयोग अति नै महत्वपूर्ण रहेको छ ।
बिश्वका अति नै बिकसित देशका प्रमुख शहरहरु अहिले आएर साइकलमैत्री बन्दै गएका छन् । कतिपय शहरले त केही बाटोहरुमा साइकल बाहेक अन्य सवारी साधन चल्न नपाउने ब्यबस्था गरेको समेत विभिन्न सामाजिक सञ्जाल र समाचारमा पढ्न पाइन्छ ।
कार्बन डाइअक्साइड उत्सर्जनमा धेरै नै कमी आउने हुन्छ यदि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रयोग नगर्ने हो भने । नेपालमा कर्मचारी, राजनीतिज्ञदेखि ब्यापारी र समाजका प्रतिष्ठित ब्यक्तिहरु अहिले साइकल चढ्न लजाउने संस्कार छ भने ब्रिटेन, नेदरल्यान्ड, डेनमार्कलगायतका राष्ट्रपति, प्रधानमन्त्रीहरु दैनिक जीवनमा समेत साइकलको प्रयोग गर्ने गरेको देख्न पाइन्छ । साइकलको प्रयोगलाई बढाउन र यसको महत्वलाई बुझाउन दीर्घकालीन रणनीति सहितको योजना राज्यले ल्याउन जरुरी छ । नेपाल जस्तो मुलुक जसले पेट्रोलियम पदार्थ अन्य मुलुकबाट किनेर ल्याएर उपभोग गरिन्छ यस्तो देशले त झन् वातावरणमैत्री सवारी साधन प्रयोगलाई प्रोत्साहन दिन जरुरी छ ।
साइकलमा लगाइएको कर हटाउन जरुरी छ । बिद्यार्थी, कर्मचारीलाई साइकलको खरिदमा बिशेष सहुलियत र छुटको सुबिधाको नीति आउन जरुरी छ । नेपालका सडकहरू अब बिस्तारै साइकलमैत्री बनाउने र सबै सडकमा अनिवार्य साइकल लेनको ब्यबस्था गर्ने, सरकारी कार्यलयमा हप्ताको २ दिन अनिवार्य रूपमा कर्मचारीले साइकलको प्रयोग गर्ने र महिनाको दुई दिन देशैभरी निजी सवारी साधन प्रयोगमा रोक लगाएर ‘कार फ्री डे’जस्ता नीतिहरु कार्यान्वयनमा ल्याउन जरुरी छ ।
अहिले स्थानीय सरकारको समेत महंगो गाडी चढ्ने प्रतिस्पर्धा जस्तै देखिन्छ । जसका कारण स्थानीय सरकारका प्रमुख र उपप्रमुखको जनस्तरमा चर्को आलोचना र गालीहरु सामाजिक सञ्जालमा आइरहेको छन् र ती अखबारमा समाचार समेत बन्ने गरेका छन् । अब स्थानीय सरकार वातावरणमैत्री बन्दै ‘हरित अभियान’लाई सघाउन जरुरी छ । गाडीमा हिड्दा भन्दा साइकलमा हिड्दा सबैलाई भेट्दै अभिवादन साटासाट, केही बातचित गर्दै जनतासंग नजिक भएर सरल रूपमा स्थानीय सरकार सञ्चालनलाई साइकलको प्रयोगले सहयोग पुर्याउने नै छ ।
स–साना काममा निस्किदा, १०-२० किलोमीटरको छोटो दुरीको यात्रा गर्नुपर्दा साइकलको प्रयोग गर्ने गरियो भने पनि वातावरणलाई जोगाउन र हरित अभियानमा सहयोग पुर्याउन ठूलो योगदान हुनेछ ।
साइकल वातावरणमैत्री सवारी भएको हुँदा सरकारले नीतिगत रूपमा नै साइकलको प्रयोगलाई प्रोत्साहन पुग्ने गरि नीति र योजना ल्याउनु जरुरी मात्र होइन अनिवार्य छ, विश्व वातावरण दिवसको शुभकामना ।


error: यो सुविधा उपलब्ध छैन !