बाबुले छोराको हत्या गरे

नेपालगञ्ज – बाँकेको कोहलपुरमा बाबुले छोराको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार, चप्परगौडीका ठाकुर वलीले छोरा पोषण वलीको हत्या गरेका हुन् । ठाकुरले छोरा नुहाइरहेको बेलामा पछाडीबाट खुर्पाले घाटीमा प्रहार गरेका थिए ।
डीएसपी खनालका अनुसार, बाबु र छोराका बीचमा सधैं झगडा भइरहन्थ्यो । बुधबार राती पनि बाबु र छोराका बीचमा झगडा भयो । छोराले बाबुलाई घाटी दबाए । उनीहरु मुश्किलले फुस्किएर खेततिर भागे । फर्केर आउदा छोरा नुहाइरहेका थिए । त्यहीबेलामा पछाडीबाट गएर बाबुले खुर्पाले घाटीमा प्रहार गरे । छोराको घटनास्थलमै मृत्यु भयो ।
ठाकुरले प्रहरीलाई बताए अनुसार, पोषणले सधैं पैसा मागिरहन्थे । बुधबार पनि विहान डेढ सय रुपैया मागेर लगेका थिए । बेलुका आएर फेरि पैसा मागेपछि बाबु र छोराका बीचमा झगडा भएको थियो । बाबु र छोराका बीचमा यस्ता झगडा भइरहन्थ्यो । यसअघि पनि बाबु र छोराका बीचमा झगडा, कुटाकुट हुन्थ्यो । यसअघि धेरै पटक चप्परगौडीमा रहेको प्रहरी बीटमा बाबु र छोरालाई बोलाएर सम्झाइएको थियो । प्रहरीको अगाडि पर्दा छोराले अब झगडा गर्दिन, बुवालाई कुट्दिन भन्थे । अनि मिलेर घर जान्थे । फेरि झगडा दोहोरिन्थ्यो ।
५२ वर्षीय ठाकुरका पूर्व चालक हुन् । उनी बाख्रापालन गर्छन् । उनका अर्का छोरा पनि छन् । अर्को छोरा ‘लाइन’मा रहेको ठाकुरको प्रतिक्रिया थियो । कोहलपुर प्रहरीले बाबुलाई नियन्त्रणमा लिएको छ । उनकाविरुद्धमा कानूनी कारबाही प्रक्रिया अघि बढाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !