लाशहरुको शहरबाट …!
रहिये अब ऐसी जगह चलकर जहां कोई न हो
हम–सुखन कोई न हो और हमजुबां कोई न हो ।
– मिर्जा असद–उल्लाह बेग खाँ फारसी भाषाका महान शायरले भनेका थिए । जो गालिबका नामले सुप्रसिद्ध छन् ।
मृत्यु अँझै बाँकी छन् बाँकेमा । बाँकेमा मात्रै होइन, संसारभरी नै हो । ’मृत्यु’ यो कुनै नौलो विषय भने होइन । प्राकृतिक मृत्युसँग असहमति रहनै सक्दैन । अस्पताल नपाएर, अस्पताल पुगेर बेड नपाएर, अक्सिजन नपाएर………यस्ता मृत्यु देख्दा कमजोर बनाईदिन्छ मानिसलाई ।
सोमबार धनगढीबाट मेडिकल कलेज कोहलपुरमा पुगेकी रत्नादेवि खनियाले भेन्टिलेटरको पर्खाइमा मृत्युसँग हार खानुभयो । आमाको मुख हेर्ने दिन एउटा छोराले आमा गुमायो । यस्ता कैयौं घट्ना छन् । नेपालगञ्ज शहरमा दैनिक लाशहरु निस्कन्छन् अनि शहरियाहरु मौन बस्नुपर्छ !!
म राप्ती नदी किनारको डिलमा बसेर पारीका लाशहरु गिन्ति गर्दैछु । हुन त राप्ती नदी किनारमा बर्षौंदेखि कतिका शव जले कतिका शव जल्नेछन् तर आजकाल जलिरहेका शवको संख्या अलि बढ्ता मात्रै हो, शवहरु निरन्तर घाटमा आउँदैछन । शवको लर्को छ, मलामी गन्न कठिन छैन, कठिन छ त शवको ब्यवस्थापनमा । लाग्छ शवहरुको उमंग बर्षामा मलामीका अनुहारका रंगहरु देख्न सक्छौं ।
हेरौं हजुर मृत्युलाई नजिकबाट । जसले कोभिडको बरकरार दूरीबाट दूर यी जलिरहेका चिता हेर्दै हुनुहुन्छ । एंगल बदलेर हेरौं । लाशको ईन्जिनियरिङ्ग गरेर हेरौं । रज्यले आइसोमेट्रिक भ्युमा हेरोस् वा अब्लिक भ्युमा यी लाश नै हुन जो पञ्चतत्वमा विलिन हुने यात्रामा निस्केका छन् ।
यी लाश बोकेका भरियाहरु अर्थात हाम्रो चलनचल्तीको भाषामा भनिने मलामीहरु कतिबेला स्वयं लाश हुने हुन केही ग्यारेन्टी छैन ।
कौन कहता है कि मौत आई तो मर जाऊँगा
मैं तो दरिया हूँ समुंदर में उतर जाऊँगा ।
–अहमद नदीम कासमीका शेर हुन् यी । अन्तमा घाट पुग्नै छ मानिसलाई । अनि के जित्नु छ के हार्नु छ जिन्दगी । मृत्युसँग जित्ने कसैको ताकत छैन यहाँ । आसपासमा समुन्द्र त छैनन् तर समुन्द्र पुग्ने सहायक नदी छन् । यिनै नदी चिताका हितैसी हुन् ।
सास्वत शत्य भनेकै जन्म र मृत्यु हो । अरु बाँकी ईह लिला न हुन् ।
जिंदगी से तो खÞैर शिकवा था
मुद्दतों मौत ने भी तरसाया ।
–नरेश कुमार शादले लेखेका यी हरफहरुले जिन्दगी र मृत्यु देखिको फासलालाई झकझोरेर राखिदिन्छन् । मानिसको जिन्दगीमा अक्सर गुनासाहरु रहन्छन् । मृत्युसँगको भयलाई हामी यतिबेला सहन सकिरहेका छैनौं । जीवन र मरणलाई प्राकृतिक रुपमा लिन सकिरहेका छैनौं ।
Death is nothing at all.
It does not count.
I have only slipped away into the next room.
Nothing has happened.
Henry Scott-Holland ले लेखेका कविताले मृत्युसँग पटक पटक साक्षात गराउँछ ।
जसले जन्मायो उसैको शवलाई छुन नपाइने, जसलाई जन्मायो उसको लाशलाई बोक्नै नपाइने । यतिबेला नदी किनारहरुमा जलिरहेका लाशहरुले मृत्युपर्यन्तका सम्बन्धहरुलाई गिज्याइरहेका महसुस हुन्छन् ।
सम्प्रदाय, धर्म, परम्परा, रीतिरिवाज…………आदी ईत्यादीले बाँधिएर चितामा शयन लाशहरु एक अर्कासँग फेरी नफर्कने कुराको पक्कापक्की गर्दै रहेका झैं लाग्छ । आजलाई लाशहरुको शहर अनि त्यसमा पनि राप्ती किनारबाट विदा चाहन्छु ।
ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मामृतं गमय ।।
ॐ शान्ति शान्ति शान्तिः ।।