बाँकेलाई स्वास्थ्य आपतकाल घोषणा गर्न कांग्रेसको माग

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेले नयाँ भेरियन्टसहित तीब्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेको छ ।
नेपाली कांग्रेस, बाँकेका उपलब्ध पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो । बाँकेमा कोरोना महामारी नियन्त्रण बाहिर जाँदा कोरोना संक्रमित बिरामीहरुले उपचारै नपाएर ज्यान गुमाउनु परिरहेको र अस्पतालले समेत थेग्न नसकिरहेको अवस्थामा सरकारले स्वास्थ्य आपतकाल तत्काल घोषणा गर्नुपर्ने कांग्रेसको निस्कर्ष छ ।
बाँकेमा फैलिएको कोरोना महामारीप्रति संघीय सरकार र प्रदेश सरकार गम्भीर नै नभएको कांग्रेसको ठहर छ । कांग्रेस बाँकेले जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अक्सिजन, औषधी र दक्षजनशक्ति सहितको आइसोलेसन स्थापना गर्न अनुरोध गरेको छ । अस्पतालमा अहिले पनि कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार पाउन नसकेको, अस्पतालमा भर्ना हुनका लागि घण्टौ समय कुर्नु परिरहेको र पहुँच नपुगेका बिरामीले ज्यानै गुमाउनु परेको गुनासो आइरहेको प्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिरामीहरु कोही पनि उपचार पाउनबाट बञ्चित नहुने बातावरण बनाइदिन सरकारलाई जोडदार रुपले आग्रह गरेको छ ।
कोरोना महामारीको निहुँमा अस्पतालमा ननकोभिड बिरामीले समेत उपचार नपाइरहेको गुनासो आएको भन्दै कांग्रेसले सबै स्वास्थ्य समस्या भएका बिरामीलाई सहज रुपले उपचारको ब्यवस्था मिलाउन अनुरोध गरेको छ ।
कांग्रेस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा बसेको उक्त बैठकले कोरोना संक्रमितको निःशुल्क उपचार ब्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । कोरोनाको पीसीआर जाँच प्रक्रिया सहज बनाउनुपर्ने, पीसीआर रिपोर्ट छिटो दिनुपर्ने र गाउँपालिका तथा नगरपालिका स्तरमै स्वाब संकलनको ब्यवस्थापन गर्न पनि कांग्रेसले माग गरेको छ ।
अस्पतालमा अक्सिजन, औषधी, स्वास्थ्यकर्मी र प्राविधिकको दिर्घकालीन ब्यवस्थापन गर्न माग गर्दै रेम्डिसिबिर औषधी, स्यानिटाइजर, मास्क तथा खाद्यान्न र तरकारीमा कालोबजारी भइरहेको जनगुनासोलाई सम्बोधन गर्न अनुगमनलाई तिब्रता दिन कांग्रेसले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।
बाँकेमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि संघीय सरकारलाई दवाव सिर्जना गर्न नेपाली कांग्रेस केन्द्रिय समितिलाई समेत बैठकले अनुरोध गरेको छ । कोरोना संक्रमितको उपचार गरिरहेका भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, आइसोलेसन सेन्टर, अक्सिजन उद्योग लगायतको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने निर्णय गरेको छ । आफ्नो मातहतका सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्था तथा जनप्रतिनिधिलाई कोभिडका बिरामीको उपचार र अन्य कार्यमा सहयोग गर्न, सचेतना अभियानमा सरिक हुन, कोरोना भाइरसबाट सुरक्षित भएर बस्न कांग्रेस बाँकेले निर्देशन पनि दिएको छ ।
बैठकले कोरोना भाइरसबाट संक्रमित बिरामीको स्वास्थ्य लाभको कामनाका साथै मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गरेको छ । कोभिड सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरेर बसेको उक्त बैठकमा सभापति कोइरालाका साथै जिल्ला सचिवद्धय तप्त पौडेल र कपिलदेव शर्मा लगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !