भेरी अस्पतालले माग्यो, ६० जना कर्मचारी
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले ६० जना कर्मचारी करारमा आव्हान गरेको छ ।
कोरोना विरामीको चाप बढ्दै गएको र जनशक्ति अभाव भएपछि अस्पतालले एकै पटक ठूलो संख्यामा कर्मचारी आव्हान गरेको हो ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले एनेस्थेसियोलोजिष्ट तीन जना, मेडिकल अधिकृत १० जना, नर्सिङ अधिकृत दुई जना, ल्याब टेक्निसियन ५ जना र स्टाफ नर्स ४० जना करारमा माग गरिएको जानकारी दिनुभयो ।
कोभिड–१९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितहरु आउने क्रम दिनानुदिन बढिरहेका कारणले त्यस्ता संक्रमितको हेरचाह तथा उपचारका लागि भेरी कोभिड आइसोलेसन वार्डमा काम गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त बजेटबाट तलव भत्ता भुक्तानी हुने गरी २०७८ असार मसान्त सम्मका लागि सेवा करार प्रक्रियाबाट पदपूर्ति गर्नका लागि आव्हान गरिएको मेसु डा. थापाले बताउनुभयो ।
भेरीमा विरामी थेग्न नसकिएपछि जनशक्ति थपलगायत कोरोनाको उपचारलाई प्रभावकारी बनाउनका लागि लुम्बिनी प्रदेश सरकारले ५० लाख रुपैया उपलब्ध गराउने भएको छ ।