शुरु भयो, हात्तीपाइले रोगविरुद्धको अभियान
नेपालगञ्ज – बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन शुरु गरिएको छ । जिल्लामा यो एघारौं चरण हो ।
२०६७ सालदेखि बाँकेमा औषधी खुवाउन शुरु गरिएको थियो । नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा र उपमेयर उमा थापामगरले औषधी खाएर अभियानको शुरु गर्नुभयो । बिहीबार नै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले औषधी खाइसक्नु भएको छ ।
बाँकेमा औषधी खानेले खाइरहने र नखानेले खादै नखाने प्रवृत्ति देखिएको छ । जसका कारण कार्यक्रम लम्बिरहेको छ । बाँकेमा गतवर्ष ७४ प्रतिशतले औषधी खाएका थिए । अन्यत्र भन्दा नेपालगञ्ज बजारमा औषधी खानेको संख्या कम रहेको छ । गतवर्ष नेपालगञ्ज उपमहानगरपालिकामा ५३ प्रतिशतले औषधी खाएका थिए ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले गाउँमा भन्दा बजारकै मानिसले औषधी नखाएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले यसपाली राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी घरघरमा पुगेर औषधी खुवाउने रणनीति बनाएको जानकारी दिनुभयो ।
बाँकेमा २०६७ सालमा ९१ प्रतिशत औषधी खाएका थिए । त्यसपछि औषधी खानेको संख्या घट्दै गयो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहका अनुसार, २०६८ मा ५३, २०६९ मा ६६, २०७० मा ७३, २०७१ मा ७५, २०७२ मा ६७, २०७३ मा ७३, २०७४ मा ६६, २०७५ मा ६१ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गरेका थिए ।