सुदूरपश्चिमको अपराजित यात्रा कायमै

नेपालगञ्ज – बागमति प्रदेशको धादिङ समाजलाई बराबरी रोक्दै सुदूरपश्चिमको स्टार सिटी युवा क्लव नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा कायमै रहेको छ ।
लगातार तीन खेल जितेको सुदूरपश्चिमले बागमतिसँग अन्तिम समयमा गोल गरेर एक÷एकको बराबरी गरेपछि लिगको शीर्ष स्थानमा कायमै रहेको हो ।
प्रतियोगिताकै प्रतिस्पर्धात्मक खेलमा बागमतिले उमेश राईले ५३ मिनेटमा गरेको गोलले अग्रता लिएको थियो ।
बागमतिको छोटो र सुदूरपश्चिमको लामो पासले खेल रोमाञ्चित बनेको थियो । चार मिनेट थपिएको अतिरिक्त समयको ९२ मिनेटमा सुदूरपश्चिमका दीपेनराज सिंहले लामो फ्रिकिकमा गोल गरेपछि खेल बराबरीमा सकिएको हो । सिंहको हानेको बल बागमतिका किपर निशान थापामगरको हातबाट फुस्केर गोल भएको थियो ।
खेलको म्यान अफ द म्याच बागमतिका अनिल तामाङ भए ।
बागमतिले दुई जीत, एक हार र एक बराबरी खेलेको छ । सुदूरपश्चिमले तीन जीत र एक बराबरी खेलेको छ ।
अर्को खेलमा १ नम्बर प्रदेशको झापाले लुम्बिनी प्रदेशको धम्बोझी क्लवलाई ३–२ गोलले पराजित गरेको छ ।
खेलको अग्रता लुम्बिनीले लिएको थियो । पूर्णबहादुर गुरुङले ५ औं मिनेटमै गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।
एक गोलले पछि परेको १ नम्बर प्रदेशले आक्रमक खेल खेल्दै लगातार तीन गोल गरेको थियो । २० मिनेटमा सुनिल खड्काले बराबरी गोल गरेका थिए । ३३ मिनेटमा सुशील लामाले टीमलाई अग्रता दिलाए । ४८ मिनेटमा जीवन गुरुङले गोल गरेका थिए ।
आधा दर्जन बढी गोल गर्ने अवसर खेर फालेको लुम्बिनीका तर्फबाट ८० मिनेटमा बिसन गुरुङले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलमा झापाका जीवन गुरुङ म्यान अफ द म्याच भए । यो खेलमा रेफ्री प्रकाशनाथ श्रेष्ठले पाँच जना खेलाडीलाई पहेलो कार्ड देखाएका थिए ।
शुरुवाती दुई खेल लगातार जितेको लुम्बिनी प्रदेशको धम्बोझी त्यसपछिको दुई खेलमा पराजित भएको छ । १ नम्बर प्रदेशको झापाले एक जीत, एक बराबरी र एक खेलमा पराजित भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !