प्रेसिडेन्ट लिग : कैलालीको विजयी शुरुवात
नेपालगञ्ज – एन्फा प्रेसिडेन्ट लिगमा सुदूरपश्चिम प्रदेश च्याम्पियन स्टार सिटी युवा क्लब, कैलालीले विजयी शुरुवात गरेको छ ।
नेपालगञ्ज रंगशालामा शुरु भएको एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा स्टार सिटीले प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब, रौतहटलाई ३–० गोलले पराजित गरेको हो ।
कैलालीले खेल शुरु भएको तीन मिनेटमै अग्रता लिएको थियो । रुपबहादुर लामाले गोल गरेका थिए । पहिलो हाफको ४६ मिनेटमा दीपकराज सिंह ठकुरीले अर्को गोल थपेपछि कैलालीले अग्रता बढाएको थियो । दोस्रो हाफको ८१ मिनेटमा कैलालीका रुपबहादुर लामाले अर्को गोल थपेका थिए । दोस्रो हाफमा रौतहटले केही राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न सकेन ।
खेलको म्यान अफ द म्याच कैलालीका रुपबहादुर लामा भए । उनलाई बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पुरस्कृत गरे । प्रत्येक खेलको म्यान अफ द म्याचलाई पाँच हजार रुपैया पुरस्कार राखिएको छ ।
कैलालीका प्रशिक्षक ललित चन्दले अझै धेरै गोल हुनु पर्नेमा मिस भएको बताए । कैलालीबाट जावलाखेलका किपर टेकेन्द्र थापाले खेलिरहेका छन् ।
रौतहटका प्रशिक्षक श्यामसुन्दर सिंहले डिफेन्सको गल्तीले गर्दा शुरुवातमै गोल खान पुगेको बताए ।
१५ गतेसम्म चल्ने प्रतियोगिताको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्घाटन गरे । प्रतियोगितामा सात प्रदेशका सात वटा च्याम्पियनले भाग लिएका छन् । यो प्रतियोगिताका शीर्ष चार टीमले ए डिभिजन खेल खेल्न पाउँछन् ।
प्रेसिडेन्ट लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् । उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।