बाँके र बर्दिया बिनाको कर्णाली, भूगोल नमिलेकै हो !

नेपालगञ्ज – एकताका बाँकेलाई कर्णालीमा मिसाउन व्यापक छलफल गरियो ।
बाँके र बर्दियाको कर्णालीवासीसँग जोडिएको भावना अनि कर्णालीको हाट नेपालगञ्ज, राजनीतिकमात्रै नभएर भावनात्मक एकताको रुपमा अघि सारिएको थियो । दुर्भाग्य, सडकमा आउन नपाउदै त्यो ‘आन्दोलन’ सेलायो ।
उद्योग मन्त्री लेखराज भट्टको नेपालगञ्ज बसाईमा फेरि त्यो हुन नसकेको आन्दोलनलाई बल पुग्ने अभिव्यक्ति आएको छ । ‘सिजा सभ्यता’सँग नेपालगञ्जलाई जोड्नु भएका मन्त्री भट्टले नेपालगञ्ज बिना कर्णालीले खल्लो महसुस गरिसकेको बताउनुभयो । ‘नेपालका सीमाना उत्तर र दक्षिणमा जोडिदा नै राम्रो हुन्छ, मन्त्री भट्टले भन्नुभयो, नेपालगञ्जसम्म नजोडिदा कर्णालीले त्यसको महसुस गरिसकेको छ ।’
मन्त्री भट्टले सिजा सभ्यतादेखि नै कर्णालीको व्यापारिक थलो नेपालगञ्ज भएको स्मरण गराउनुभयो । उहाँले आफूले उत्तर र दक्षिण मिलेको भूगोल बनाउनु पर्छ भनेर शुरुदेखि नै लागिपरेको बताउनुभयो ।
बाँके र बर्दिया अनि कर्णालीलाई पनि मिसिदा नै फाइदा हुने आवाज बढ्दो छ । बोल्ने हिम्मत सानो समूहले गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले कर्णालीमा मिसिने निर्णय गरेपनि यो विषयमा ‘तै चुप, मै चुप’को अवस्थामा रहेका छन् ।
नेपालगञ्ज उद्योग बाणिज्य संघले उद्योगमन्त्री भट्टलाई स्वागत तथा सम्मान गर्दा मन्त्रीबाट घुमाउरो पारामा भूगोल नमिलेको अभिव्यक्ति आएको थियो । व्यापारसँग जोडेर भूगोलको कुरा गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !