नेपालको बर्तमान राजनीति र राजनीतिक दलहरु

नेपालगञ्ज – हिन्दीमा एउटा प्रचलित गीत छ, ‘दुःख–सुख था एक सबका अपना हो वा बेगाना, वह भी क्या जमाना था, यह भी क्या जमाना है’ भनेर बिगत र बर्तमानमा परिवर्तित हुँदै गएका सामाजिक सम्बन्धहरुलाई दर्शाउने प्रयास गरिएको छ । ठिक त्यस्तै यो गीतले भनेजस्तै नेपालका राजनीतिक दलहरूलाई सटिक टिप्पणी छ । किनभने २०३५-०३६ र ०५०-५१ सालभन्दा अगाडिसम्म नेपाली राजनीतिमा नेपाली काँग्रेसको पकड बलियो रहेतापनि सीमित संख्यामा रहेका कम्युनिस्टहरूको पनि सामाजिक सम्मान अन्यको तुलनामा कम थिएन । त्यतिबेलाको राजनीतिमा रहेका अधिकांस नेता तथा सीमित कार्यकर्ताहरु समेत स्थानीय तहका स्थापित ब्यक्तिहरु मात्रै देखिन्थे ।
देशमा बिद्यमान गरिबी, पछौटेपन, कुसंस्कार अनि गरिबी र बिभेदको मारमा बाँचेकाहरुको मुक्ति नै राजनीतिक दलहरुका उद्देश्य थिए । केही अपबाद बाहेक सबै राजनीतिक दलहरुको आदर्श र लक्ष यिनै माथि उल्लिखित बिषयमा नै केन्द्रित थिए । यिनै आदर्श बोकेका र उच्च नैतिकताले लैस ब्यक्तिहरु कै कारण राजनीतिक दलहरू समाजमा स्थापित हुँदै गए । त्यतिबेला के काँग्रेस, के कम्युनिस्ट सबैको अभिप्राय देशमा बिद्यमान ब्यबस्था परिबर्तन र त्यसबाट हुने गरेका अन्याय र अत्याचारको अन्त्य नै एक मात्र लक्ष थियो । तिनै नाराको आकर्षणले गर्दा नै सर्वसाधारण जनता यतातिर आकर्षित हुन पुगे । किन भने प्रत्येक मानिसमा सुखः प्राप्तिको ईच्छा लुकेर बसेको हुन्छ र दुःखबाट उसले मुक्तिको चाहना राख्दछ । त्यहि दुःखबाट मुक्तिको चाहनेले उसलाई अघि बढ्न उत्प्रेरित गर्दछ ।
मान्छेको अबचेतन मन र मस्तिष्कमा रहेको यही सुखको चाहनालाई आधार बनाएर हरेकले आ–आफ्नै तरिकाले सर्वसाधारणलाई ठग्ने गरेको देखिन्छ । यो फाइदा लिन कोही पनि चुकेको देखिदैन । निमुखा, लाचार अनि अभावमा बाँचेकाहरुलाई ठग्न कोही पछाडी पर्ला जस्तो लाग्दैन । यो ठगिको ब्यापार सबै धर्म, सम्प्रदाय हुँदै आजको समयमा नेपाली राजनीतिमा पनि बिना लगानीको फाइदाजनक ब्यापार साबित हुन गएको छ । त्यसैले त हरेक पटक नयाँ–नयाँ नारा र आश्वासनमा नेपाली जनता ठगिएको ईतिहास छ । जनता ठगिनेक्रमको सहज अन्त्य सजिलोसंँग छिटो होला भन्न सकिने अबस्था छैन । किनभने, जुनदेशको ‘अभिभाबक बर्ग’ सजिलोसँंग स्वयं पैसा र पद प्राप्तिका लागि आफ्नो स्वाभिमान बेच्न उद्यत छ त्यसबाट नागरिकले राहत पाउने आशा न्युन छ ।
आधुनिक नेपाली राजनीतिको बिशेश्वरप्रसाद कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ, निर्मल लामालगायतको पुस्ता देशको राजनीतिक दिशा र भबिष्य निर्धारण गर्न नसकेर सकियो भने उनैका आदर्श देखाएर आफु स्थापित हुन पुगेका समकालीन पुस्ताका सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, झलनाथ, माधब नेपाल, पुष्पकमल दाहालका अतिरिक्त रामचन्द्र पौडेल, शेरबहादुर देउवा आदिले समेत देशको धरातलीय यथार्थतालाई आत्मसात गरेको देखिदैन वा यसलाई स्विकार्ने आँट र हिम्मत उनीहरुमा छैन । जसले गर्दा नेपालका राजनीतिक दलहरुमा सधैं–सधैं अनन्तसम्म कायम रहने गरी राजनीतिक बैरभाव अनि मनमुटाउको स्थिति उत्पन्न हुन गएका छन् भन्ने लेखकको बुझाई छ ।
यस प्रकारको प्रबृत्तिको पीडा कहिले नेपाली काँग्रेस ब्यहोर्न बाध्य भयो त कहिले नेपाल कम्युनिस्ट पार्टीले भोग्यो । यसबाट राष्ट्रिय प्रजातन्त्र पार्टी समेत अछुतो रहेन । यहि राजनीतिक बैरभावयुक्त मानसिकताको फलस्वरुप नेपालका कुनैपनि दलहरु भित्र सिङ्गो दललाई नेतृत्व दिनसक्ने ब्यक्तिको अभाव सदैब कायम रह्यो । बारम्बार यस्ता घटनाहरुको पुनराबृत्ति हुँदासम्म पनि यस्तो हुनुका पछाडिको रहस्यका सम्बन्धमा आत्मसमीक्षा गर्ने खाँचो कुनैपनि दललाई भए जस्तो लाग्दैन । आपसमा मिलेर राष्ट्रिय दल सञ्चालन गर्ने सामथ्र्यको बिकास गर्न नेपाली राष्ट्रिय नेतृत्व सदैब असफल रहेको कुरा ईतिहास साक्षी छ । बिना सैद्धान्तिक आधार ब्यक्तिगत स्वार्थलाई आधार बनाएर दलबाट निक्लने र एकले अर्कोलाई निष्कासन गर्ने संस्कृति मौलाउँदै गरेको सन्दर्भमा यिनीहरुलाई एक भएर काम गर्ने बाताबरणको निर्माण हुन नदिने कुनै तेस्रो पक्ष भन्नेमा अब शंका रहेन ।
यसै प्रसंगसँग मिल्दोजुल्दो थारु समुदाय मा चर्चित ‘घरफोरुवा’ किरण आचार्यद्वारा संकलित कथा पढेको थिएँ । जसको मर्म साठी पार गरेपछि नेपाली राजनीतिको सन्दर्भमा सटीक र सान्दर्भिक लाग्यो । कथा यस्तो थियो, गाउँमा एकजना मानिसलाई उसले चाहेमा जस्तोसुकै मिलेर बसेको परिवारलाई पनि फुटाउन सक्छु भन्ने घमण्ड थियो । एक दिन त्यसै गाउँका केही ब्यक्तिहरुले सोही गाउँको अति मिलेर बसेको एउटा जोडीलाई फुटाउन सर्त राखे । उसले सो कुराको जिम्मा लियो र उसले सर्तअनुसार आफ्नो काम प्रारम्भ ग¥यो । उसले ती दुबैलाई अलगअलग भेटी एकले अर्कोलाई कति माया गर्छ भन्ने कुरा जाँच्न एउटा सल्लाह दियो र पत्नीलाई भन्यो, मध्यरातमा पतिको जिउ चाट्नु नुनिलो होला । उता पतिलाई पनि भन्यो, तेरि पत्नी बोक्सी छ, तँलाई मार्न खोज्छे, नपत्याए हेर्नु आज राति तेरो जिउ चाट्ने छ । घरफोरुवाको उक्त भनाइले पति पत्नी दुबैमा संसय पैदा भैसकेको थियो । अब लोग्ने बिछेउनामा पत्नीको उक्त कार्यको पर्खाइमा थियो । जब मध्यराती भयो पत्नी पतिले आफुलाई कतिको मायाँ गर्छ भन्ने कुराको परीक्षण गर्नलाई उसैको सल्लाह अनुसार जिउको लुगा हटाएर चाट्न चाहन्थी र त्यसै गर्न प्रयास गरी । उता लोग्ने भने यसले मलाई मार्न आटी भन्नेमा बिश्वस्त थियो र लोग्ने ब्यँुझै थियो । पत्नीले चाट्न खोज्दा उसले पिटे छ र उनीहरुको लामो माया र स्नेह टुट्न गयो । उता घरफोरुवा र सर्त लगाउने साथी भाइ भने खुशी भएछन् । अनि ‘घरफोरुवा’ ले सर्त जिते छ ।
केटाकेटीमा सुन्दा यो कथाले मलाई असर गरेन । तर उमेर बढ्दै जाँदा यस कथाको मर्म बुझे । किनभने नेपालका हरेक परिवार अनि राजनीतिक दलहरुमा यहि ‘घरफोरुवा’ को भूमिका नै प्रमुख रह्यो र यसलाई कुनै पनि राजनीतिक दलहरुले चिन्न सकेनन् र त आज सबै दलहरु भित्र स–साना गुट र उपगुट बनेका छन् । जबसम्म नेपालीले घर, परिवार, समाज र राजनीतिक दलहरुले ‘घरफोरुवा’लाई चिनेर ब्यबहार गर्न सिक्दैन तबसम्म यी दलहरु मिल्नु र फुट्नुको कुनै औचित्य म देख्दिन । अस्तु ।
भृकुटीनगर, नेपालगञ्ज ।


error: यो सुविधा उपलब्ध छैन !